डोल्पा कार्बाही क. माओको निधनपश्चात् अन्तर्राष्ट्रियस्तरमै माओवादी क्रान्तिकारीहरूले गरेको फौजी कार्बाहीहरूमा एउटा महत्वूर्ण कार्बाही बन्न गएको छ ।

सिङ्गो राज्यसत्तालाई तहस–नहस र ठूलो झट्का दिने गरी यो कार्बाही २०५७ असोज ८ गतेको राती बटालियनस्तरको शक्तिले सम्पन्न गरेको थियो । हाम्रो पाँच वर्षको जनयुद्धको सर्वोच्च फौजी कार्बाहीको प्रतिनिधित्व गर्दै सम्पन्न यस कार्बाहीमा जिल्ला कारागार शाखा, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयहरू पूर्ण रूपले ध्वंस गरियो । ४ घन्टासम्म चलेको उक्त कार्बाही उच्च प्रकारको चलायमान मोर्चाबद्ध युद्धको पनि एउटा अभ्यास बन्यो ।
अत्यन्तै भौगोलिक विकटता, मौसमी प्रतिकूलता, ठूलो फर्मेसनमा बेला–बेलामा देखिने व्यवस्थापनको समस्या, श्वेतइलाकामा सुरक्षाको समस्या, ग्यारेन्टी सर्भेको अभावका बीच थुप्रै प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्दै ऐतिहासिक र युगान्तकारी फौजी सफलता हासिल गर्न सक्नु आफैँमा सुखद् र गौरवको विषय हो । यसो भएर पनि पहिलोपटक कार्बाहीको अन्तिम मितिमा र अन्तिम क्याम्पबाट फर्कनुपर्ने बाध्यात्मक स्थिति, दुश्मन कहाँ सूचना पुग्नु, कार्बाहीमा जाँदा–जाँदै एकाएक ४८ जनाको फोर्स थपिएको प्रतिकूलताको कारण कतिपय कमान्डर कमरेडहरूमा देखिएको दुविधा र हमला सुरु भइसकेपछि दुश्मनबाट प्रयोग गरिएको एसएलआरको फायरले अग्रपङ्क्तिमा गएको कमरेडहरूमा पैदा गरेको मनोवैज्ञानिक प्रभाव आदिका कारणले र सदरमुकाम जस्तो कठीन लक्ष्यमा जाँदा हुनुपर्ने पर्याप्त समयको अभावले २ वटा कोठा भने कब्जामा लिन सकिएन ।” (उही प्रतिवेदन) ।
पश्चिम कमान्डअन्तर्गत सम्पूर्ण शक्ति (तत्कालीन स्थायी कम्पनी र प्लाटुनहरू) केन्द्रित गरी यो कार्बाही सम्पन्न गरिएको थियो । यो आक्रमण जनयुद्धको इतिहासमा ऐतिहासिक महत्वको कार्बाही हो । यो जनसेनाद्वारा पहिलोपटक सदरमुकाम आक्रमणको कार्बाही हो तर आक्रमणको सम्पूर्ण तयारी रुकुममा गरिएको थियो; जसको कारण लामो हिँडाइसहित थुप्रै प्राकृतिक प्रतिकूलतासँग जुध्दै कार्बाही सम्पन्न भएको थियो । यो कार्बाहीका क्रममा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरू ध्वस्त पारिएका थिए । बैङ्क, जेल सबै कब्जा भएका थिए । कार्बाहीबारे सुइँको पाएर राज्यद्वारा आधुनिक तालिमप्राप्त दङ्गा फोर्ससमेत थप्दा पनि प्रहरीको पराजय भयो । अत्यन्तै भीषण रूपले भएको यस लडाइँमा जनसेनातर्फ २ जनाको क्षति भएको थियो भने १७ जना घाइते भएका थिए । प्रहरीतर्फ दर्जनाँैको मृत्यु भएको थियो । यस कार्बाहीबाट करिब ५ करोड नगदसहित ५० औँ थान प्रहरीका हतियार कब्जा गरियो ।
दुनै हमलापश्चात् तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले राजीनामासमेत दिएका थिए । नजिकै रहेको शाहीनेपाली सेनाको टोलीले प्रहरीको मद्दत नगरेको भन्ने नाउँमा गृहमन्त्रीले राजिनामा दिए पनि वास्तवमा तत्कालीन सत्ताको दुईवटा टावरहरू नारायणहिटी दरबार र सिंहदरबार (विशेषतः नेपाली कांग्रेस) बीचको अन्तर्विरोधलाई यो कार्बाहीले सतहमा ल्याइदिएको थियो ।
ठूलोस्तरमा जनशक्तिको केन्द्रीकरण, त्यसको उचित व्यवस्थापन र व्यवस्थित परिचालन तथा छापामार युद्धलाई नियमित र मोर्चाबद्ध युद्धमा विकास यो कार्बाहीका महत्वपूर्ण विशेषताहरू हुन् ।
दीपक चलाउनेकाे प्रकाशित हुँदै गरेकाे किताव जनयुद्ध र जनमुक्ति सेना, संक्षिप्त सिंवालाेकन काे एक अंश ।







