वाम गठबन्धनका एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण र सत्तारोहणका रोचक कुराहरू बाहिर आइरहेका बेला भारतले केपी ओलीलाई बलियो भएको देख्न चाहेको खुलासा भएको छ ।

त्यति मात्रै होइन भारतले ओलीलाई बलियो बनाएर प्रचण्डको राजनीति नै समाप्त पार्ने योजना बनाएका जानकारहरू बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार महोत्तरीको एउटा सार्वजनिक कार्यक्रममा भने, ‘कहिले एमालेलाई त कहिले माओवादीलाई वाम एकता नगर्न भनेर धम्की र प्रलोभन आइरहेको छ ।’ त्यो धम्की वा प्रलोभन कसले कस्तो प्रकृतिको दिएको हो भन्ने चाँहि उनले खुलाउन चाहेनन् ।

वाम एकताबिरुद्ध विभिन्न षडयन्त्र भइरहेको बारेमा उनको यो पहिलो अभिव्यक्ति होइन । २१ माघमा आफ्नै पार्टीका केही विद्यार्थी नेतासँग प्रचण्डले भनेका थिए, ‘वाम एकता भाँड्न एक महिनासम्म मेरा पछि लागेकाहरू अहिले ओलीजीको पछि लागेका छन् ।’ आइतबारमात्रै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा संचारकर्मीसँग भने, ‘भारतको दबावमा अहिले माओवादीलाई सरकार बाहिर राख्ने षडयन्त्र भइरहेको छ ।’

नेपालको राजनीतिमा विदेशी वा स्वदेशी षडयन्त्र र चलखेलका प्रसङ्ग नयाँ भने होइनन् । राजनीतिक रंगमञ्चका पछिल्ला केही घटनाक्रम केलाउने हो भने छिमेकी भारत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति असहिष्णु बनेको प्रष्ट देखिन्छ । भारत नेपाली राजनीतिमा विद्यमान प्रचण्ड क्रेज अझै घटाउन चाहन्छ । त्यो पार्टी फुट वा एकताको माध्यमबाट होस् वा सरकारमा सहभागी हुने र बाहिरिने नाममा होस् ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले सरकारको नेतृत्व गरिरहेकै बेला नाकाबन्दी लागेको हो । माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता समीकरण बनायो । जुन कुरा भारतले मन पराएको थिएन । भारत कांग्रेससँगको माओवादी सहकार्यको निरन्तरता चाहन्थ्यो । प्रचण्डले चाहेको भए भारत उनलाई नै शक्तिमै लैजान चाहन्थ्यो । तर प्रचण्डले मानेनन् ।

प्रचण्डले एमालेसँग गठबन्धन बनाएर केपी शर्मा ओलीलाई भारतीय नाकाबन्दी तथा चीनसँगको सम्पर्क बढाउन काँध थापिदिएको भारतको बुझाई छ । नेपाल चीनतर्फ ढल्किएको भन्दै भारतीय संचारमाध्यम, बौद्धिकवर्ग मात्र हैन प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीभित्र पनि नाकाबन्दीको आलोचना भएको थियो ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय संस्थापनको सम्बन्ध सुमधुर नै थियो । नाकाबन्दीका बेलादेखि ओली र भारतको दरार सुरु भएको हो ।  त्यसपछि ती दुई पक्ष बीचको सम्बन्धमा सुधार आउन सकेको थिएन ।

भारत हरतरहले एमाले र केपी ओलीलाई कमजोर बनाउन चाहन्थ्यो । एमालेसँगको माओवादी सहकार्य र गठबन्धन तोड्न चाहन्थ्यो ।  तर, त्यसविपरीत प्रचण्डले दोश्रोपटक फेरी एमाले र ओलीसँग नाता गाँसे ।

स्थानीय चुनावमा कांग्रेससँग सहकार्य गरेको माओवादी प्रदेश तथा संघीय संसदको चुनावमा एमालेसँग गठबन्धन गर्नेमात्र हैन चुनावलगत्तै पार्टी एकता गर्ने विन्दुमा पुग्यो । जुन कुरा भारतले मन पराउने संभावना थिएन । एमालेसँग सहकार्य गर्न आफूहरूले दिएको सल्लाहलाई प्रचण्डले लत्याएको भारतीय संस्थापनको बुझाई छ ।

प्रचण्डले यो कुरा पटक–पटक सार्वजनिक रुपमा दोहोर्याए । ५ वर्ष प्रधानमन्त्री खानुस् भनेर अफर आएको तर आफुले लत्याएको उनले बताए । भारतसँग नजिकको सम्बन्ध रहेको भनिएका कांग्रेसका नेता नारायण खड्का लगायतले खुल्ला रुपमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री खान प्रचण्डलाई आव्हान गरे ।

जसले अफर गरेको भएपनि अन्ततः त्यो भारतको चाहाना थियो । माध्यम विभिन्न थिए । कांग्रेस, मधेश केन्द्रित दल  र माओवादीको सरकार बनाएर एमालेलाई ५ वर्ष सरकारबाहिर राख्न सकिन्छ भन्ने योजना प्रचण्डले नै नमान्दा फेल खायो ।

एमाले र ओलीसँग माओवादी र प्रचण्डको सम्बन्धबिच्छेद गराएर भारत प्रचण्डलाई बलियो बनाउनेभन्दा पनि एमाले र ओलीलाई कमजोर बनाउन चाहन्थ्यो । जुन कुरा प्रचण्डले मानेनन् ।

बृहत वाम एकता, देशको स्थिर राजनीति र सुशासनसहितको आर्थिक सम्बृद्धिका लागि भन्दै प्रचण्डले सकेसम्म छिटो पार्टी एकतामा जोड दिए । त्यसपछि भारत प्रचण्डसँग थप चिढियो । एमाले र ओली शक्तिशाली बन्नुमा माओवादीको हात छ भन्ने दिल्लीको बुझाई अहिले पनि छ र दिल्ली प्रचण्डसँग बेखुसी छ ।

कुनै पनि बाटोबाट ओलीलाई प्रधानमन्त्री बनाउन र वाम एकता रोक्न नसकिने भएपनि अन्ततः भारतले अब ओलीसँगै सहकार्य गर्ने रणनीति अख्तियार गरेको छ । जसका लागि प्रचण्डलाई कमजोर बनाउने र ओलीसँग नजिकिएर काम गर्ने दिल्लीको चाहना छ ।

ओली–मोदी वार्ता, पत्र आदानप्रदान, सुष्मा स्वराज भ्रमण र एमालेको रात्रिभोज, मधेश केन्द्रित दललाई ओली नेतृत्वको सरकारमा जान दिइएको सुझाव र ओलीलाई दिल्ली भ्रमणको मोदीको निम्ता लगायतका पछिल्ला केही परिघटना हेर्ने हो भने भारतको उदेश्य सहज रुपमा बुझ्न सकिन्छ ।

वाम एकता अथवा एमाले र माओवादीको एकीकरण भयो भने, अहिलेकै अवस्थामा प्रचण्ड शक्तिशाली हुने दिल्लीको बुझाई छ । आफुलाई धोका दिएको मानिरहेको दिल्लीले प्रचण्डलाई पार्टी एकतापछि फेरी शक्तिशाली भएको देख्न चाहँदैन । त्यसैले अहिले उसले सकेसम्म एकता हुन नदिने, भए पनि प्रचण्डको शक्ति क्षय गराएर मात्रै एकता होस् भन्ने चाहेको दिल्लीस्थित नेपाल विज्ञको बुझाई छ ।

त्यसै कारण उपरोक्त परिघटनालाई नजिकबाट बुझेर विश्लेषण गरिरहेका प्रचण्डले कहिले फड्को मार्न सक्ने त कहिले एकता भाँड्न षडयन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् । जुन कुरालाई चित्रबहादुर केसीको भनाईले समेत प्रष्ट पारेको छ ।

कहिले जबज त कहिले माओवाद वा शक्ति बाँडफाँडका नाममा एमाले माओवादी पार्टी एकतामा भइरहेको ढिलाई यसैको परिणाम हो ।

नेपालपानाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार