धेरै मानिसहरुलाई पत्यार नलाग्न सक्छ, तर नेकपा एमालेभित्र अहिले अर्को ‘नदेखिने गुट’ को जन्म भइसकेको छ । र, त्यो नदेखिने गुट माधव नेपाल, झलनाथ वा वामदेव गौतमले नभएर राष्ट्रपति विद्यादेवी भण्डारीले चलाउने गरेकी छिन् ।

एमालेमा यतिबेला केपी ओली पक्ष, माधव नेपाल पक्ष र ‘जबजविरोधी तेस्रो धार’ समेत गरी मुख्यतः तीनवटा देखिने गुट छन् । यसमध्ये माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमका गुटहरु बन्दै र भत्कँदै गर्ने गरेका छन् । तीनै नेताको अस्थिरताबाट केपी ओलीले प्रशस्त लाभ लिइरहेका छन् ।

तर, विगतमा केपी ओली गुटकै महत्वपूर्ण पात्र मानिएकी तत्कालीन पार्टी उपाध्यक्ष एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेभित्र आफ्नै शक्ति आर्जन गरेकी छिन् । राष्ट्रपति पदमै रहँदा पनि उनले पार्टीभित्र केपी ओली समूहलाई लगाम लगाउने हैसियत बनाएकी छिन् ।

र, यही ‘नदेखिने गुट’ को तागतमा टेकेर विद्याले आफ्नो मान्छेलाई सांसद, मन्त्री र मुख्यमन्त्री बनाउने गरेकी छिन् ।

बाहिरबाट हेर्दाखेरि विगतदेखि नै केपी र विद्याका फरक-फरक गुट थिएनन् । मदन भण्डारीको लिगेसीलाई प्रयोग गरेर पार्टीमा विद्याले आफूलाई स्थापित गरिन् । ओली गुटले जबजको प्राधिकारका लागि विद्यालाई बलियो साथ दियो ।

तर, अहिले उनै विद्याले ओली समूहसँग बार्गेनिङ पावर बढाएकी छिन् । राष्ट्रपति पदमा रहुन् या नरहुन्, अब विद्या भण्डारी एमालेको बलियो शक्तिकेन्द्र हुन् । विद्याको जति शक्ति झलनाथ र माधव नेपालसँग छैन । भएदेखि झलनाथ खनाल तेस्रो राष्ट्रपति बन्ने सम्भावना रहन्थ्यो ।

माओवादी र एमालेलाई एकता गराउने र चुनावी गठबन्धन बनाउनेमा विद्या भण्डारीको नदेखिने, तर सक्रिय भूमिका छ । अब पार्टी एकता भयो भने प्रचण्डले समेत विद्या भण्डारीलाई ‘ट्रष्ट’ गर्ने र अविभावक मान्ने परिस्थिति बनेको छ । र, विद्याले यही बलमा पुनः राष्ट्रपति पाउने सम्भावना प्रचुर बनेको छ ।

यो स्थितिले अब एमालेभित्र विस्तारै दुईवटा शक्तिकेन्द्र सतहमा आउने देखिन्छ, एउटा- विद्या भण्डारीको र अर्को केपी ओलीको ।

ओली र विद्या दुबैले एक अर्कालाई प्रयोग गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने नीति लिन सक्ने देखिन्छ । र, दुबैको सहकार्यले पार्टीभित्रका अरु गुटहरु थप निकम्बा बन्ने देखिन्छ ।

अब केपी ओली र प्रचण्डवीच दरार देखिएका अब विद्या भण्डारीले नै उनीहरुवीच ‘स्पिड कन्ट्रोल’को भूमिका खेल्नेछिन्, यो काम एमाले- माओवादीका अरु नेताहरुले सक्ने छैनन् ।

राष्ट्रपति वा पूर्वराष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीको नेता बन्ने स्थिति रहँदैन, तर ‘नदेखिने गुट चलाउन’ र एउटा शक्ति केन्द्रका रहिराख्नका लागि विद्या भण्डारीलाई शीतलनिवासको बसाइले रोक्दैन भन्ने कुरा उनको सक्रियताले स्पष्ट देखाइसकेको छ ।

केपी ओलीलाई दोस्रोपटक प्रधानमन्त्रीको सपथ ग्रहण गराइरहँदा मन्त्रीको नाममा विद्याले दिएको चासो माइकबाट पोखिएको थियो ।

अनलाइनखबरले तयार पारेेकाे रिपार्टकाे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार