लामाे समयसम्म बहसबाट बहसमा अल्झिरहेका दुर्इ वाम दल एमाले र माओवादी केन्द्रबीच सोमबार राती ११ बजे एकताको घोषणा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेदेखि सुरुभएको पार्टी एकता संयोजन समितिको बैठकले एकताको सात बुँदे सहमति गरेको हो । बैठक सकिएलगत्तै एमाले महासचिव इश्वर पोखरेल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै ७ बुँदे सहमति भएको बताएका हुन् ।
सहमति अनुसार, एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ । त्यसैगरि, पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवाद रहने सहमति भएको छ ।
सिद्धान्तकै रुपमा जनताको बहुदलिय जनवादले अवलम्वन गरेको शान्तिपूर्ण प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै अघि बढ्ने मान्यता र माओवादीले समेत अवलम्वन गरेको २१ औं जनवाद अनुसार नै शान्तिपूर्ण प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै अघि बढ्नेमा विवाद नरहेको समेत जनाइएको छ ।
त्यसैगरि, जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादलाई आवश्यकताका आधारमा बिकास गर्दै अघि बढ्न सकिने सहमति पनि भएको छ । प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादका आधारमा अघि बढ्ने सहमति भएको छ ।
पार्टीको अगामी महाधिवेशनलाई एकता महाधिवेशनको रुपमा सम्पन्न गर्ने सहमति दुई दलबीच भएको छ । महाधिवेशनसम्म एकिकृत पार्टी संचालनका लागि उपयुक्त संरचना बनाउने सहमति पनि भएको छ ।
ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।








