
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ रेलमार्गजस्ता पर्याप्त भौतिक पूर्वाधार विकास हुने हो भने नेपालमा चिनियाँ पर्यटकको बाढी नै आउने देखिएको छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीअनुसार चिनियाँ रेल लुम्बिनीसँग जोड्न सके वार्षिक २५ लाख पर्यटक सजिलै नेपाल आउनेछन्। गत वर्ष संसारभरबाट १० लाख पर्यटक नेपाल आएका थिए।
‘एक दशकअघि मात्र नेपालमा वार्षिक ३० देखि ३५ हजारको हाराहारीमा चिनियाँ पर्यटक नेपाल आउने गर्थे,’ बोर्डका कार्यकारी प्रमुख जाेशी भन्छन्, ‘यस वर्ष चिनियाँ नयाँ वर्षको छुट्टीमा मात्रै ४० हजार चिनियाँ पर्यटक आउने अपेक्षा छ।’
उनी अढाइ वर्षअघिको भुइँचालोको कारण केही कमी आएपनि चिनियाँ पर्यटक नेपाल भित्रिने दरमा पुन वृद्धि भएको बताउँछन्। उनका अनुसार वार्षिक २० देखि ३० प्रतिशतका दरले नेपालमा चिनियाँ पर्यटक बढिरहेका छन्।
यद्यपि नेपालमा पर्यटक आउने मुख्य राष्ट्र अझै भारत नै हो। भारतबाट गत वर्ष १ लाख ६० हजार पर्यटक आएका थिए भने चीनबाट १ लाख ४ हजार आएका थिए।
जोशीले यस वर्ष भारतबाट १ लाख ७० हजार र चीनबाट १ लाख ३५ हजार पर्यटक आउने अपेक्षा गरेको बताए।
अझ त्यसभन्दा बढी चिनियाँ रेल जोडिएपछि नेपालको पर्यटन क्षेत्रमा आमूल परिवर्तन हुने उनी बताउँछन्। गत वर्ष रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए।
चिनियाँ पर्यटकहरुका बीचमा पोखरा गतिलो गन्तव्य बन्ने गरेको छ। पोखरामा प्याराग्लाइडिङ र अल्ट्रालाइट उडानका लागि उनीहरु त्यहाँ झुम्मिने गरेका छन्।







