भर्खरै झरि निख्रिएको थियो पन्द्रुङ्गको आकासबाट र घाम लाग्न शुरु भएको थियो केहीदिन देखि ।

तर अकस्मात सत्ता यसरी बौलायो कि पन्द्रुङ्ग जराङ्गको त्यो पाखामा अत्यासहरु यति उराठ बनेर बर्सियो कि त्यसले दिल बहादुर रम्तेल र राम प्रसाद भट्टको रगतको वर्षा गरायो र त्यसको कैयन दिनसम्म जराङ्गका मानिसहरुको आँखाबाट झरि र मनबाट अत्यास मेटिन सकेन।

आफ्नै आँखा सामुन्ने गोलीले ढलेको दिल बहादुरको काँधबाट भुलभुले मूलबाट पानी आएझैं भुलभुल गरेर रगत पोखिएको थियो र ऊ अत्यासपूर्ण तवरले बोलिरहेथ्यो–पानी…पानी…पानी… । त्यसपछि हामी कुदेका थियौं जोत्न मेला लागेका उनका बा सेते सार्कीलाई बोलाउन।

अवेर गरेर गोर्खा अस्पताल लगिएको ऊ फेरि जराङ्ग नर्फकने गरि बाटैमा निख्रिएछ।त्यसपछि जे भयो लोक जान्दछ।

भाञ्जा राम भट्ट निको भए, प्राविधिक काम गरेर खाएका छन्, भिनाजूले खुसी अनुहारमा राम भाञ्जाको कामबारे बताउँदा यसपालि साला भेना मिलेर हामीले दुई हाँडी मकै बुत्यायौं ।

त्यसपछि जराङ्गबाटै हाम्री दिदी, मेरी गुरुआमा कौशिला तमु ‘शिल्पा’, दाजु गुणनिधि देवकोटा, सहित आधा दर्जनको रगत बग्यो।त्यही रगतको मोलमा उभिएकाहरु नयाँ सुदखोर बने र रगतमाथि गद्धारी गरेर नव सामन्तमा रुपान्तरण मात्रै भएनन् माओवादी आन्दोलनकै कत्लेआम गर्न अग्रसर छन् र ओलीसँग भाखा मिलाएर भन्दैछन्–जनयुद्ध सैद्धान्तिक भुल थियो ।

आज फागुन १४, प्रिय साथी दिल बहादुर रम्तेल, आजैको मिति अर्थात् २०५२ फागुन १४ मा नरभक्षी रक्तपिपासु सत्ताले तिम्रो रगत पिएको दिन।तिमि अमर बनेको दिन।

अनेक अनेक अत्यासपूर्ण सम्झना।श्रद्धाञ्जली।

यादव देवकाेटा, जनयुद्धका प्रथम सहिद रम्तेलका स्कुलका सहकर्मी हुन् । सामाजिक संजाल फेसबुकमा देवकाेटाले लेखेकाे स्टाटसबाट । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार