माअाेवादी केन्द्र कसरी सिहंदरबारमा विलिन हुन पुग्याे ? यसबारे राताेपाटी अनलाइनले विश्लेषक एवम् लेखक द्वय राजेन्द्र महर्जन र युग पाठकसँग कुराकानी गरेकाे थियाे । समसामयिक ठानी यहाँ प्रकाशित गरेका छाैं ।
राजेन्द्र महर्जन भन्छन् : ‘माओवादीलाई सिंहदरबारले बदलेको देखिन्छ ।’
माओवादी एजेन्डाभन्दा पनि राज्यमा विलिन भएको देखिन्छ । अझ भनाँै राज्यको जुन खालको ढाँचा छ अथवा जुन संस्कार छ, त्यसमा मात्र समाहित भएको देखिन्छ । माओवादीले राज्य पुनर्संरचनाका एजेन्डा थाँती राखे । त्यो नाराको बलमा शक्ति आर्जन गरे ।
माओवादी त्यसैको आधारमा ‘पावर एक्सरसाइज’ गरिह्यो । त्योसँगै ‘पावर एक्सरसाइज’ गर्नका लागि अनेक खालमा टिक्डम गर्न पनि अघि नै रह्यो । ती टिक्डमका लागि धेरै खालका सम्झौता गर्न पनि पछि परेन । एजेन्डा छोड्दै जाने र फेरि पनि पावरमै रमाउने प्रवृत्ति माओवादीभित्र बढी देखियो । अरू पार्टीभन्दा केही भिन्नता देखिएन ।
माओवादीभित्र पनि विभिन्न गुटहरू काफी छन् । ती गुटहरू पावर एक्सरसाइज गर्न लालइत देखिए । नेताहरूका ती गुटलाई तालमेल गराउनका लागि गाह्रो भएको जस्तो देखिन्छ । अझ गुटभित्रको संस्कार के छ भन्दा, जसरी हुन्छ पदमा पुग्ने दाउ देखिन्छ ।
अब पदभन्दा पनि अझ बढी मन्त्री नै चाहियो । मन्त्रीमा पनि गृह, रक्षा, अर्थ भए भने ‘पावर एक्सरसाइज’ गर्न बेसी सजिलो हुन्छ भन्ने मानसिकता देखियो । यसले गर्दा स्रोत साधनमा कब्जा गर्न सकिने भयो । त्यसको आधारमा आफ्नो गुटलाई बलियो बनाउन सकिन्छ भन्ने मानसिकता काफी देखिन्छ । अब त्यो खालको सोचाइ र संस्कार छ । त्यसैले मन्त्री बन्नका लागि बढी तनाव देखिएको हो ।
सिंहदरबार बदल्न आएका माओवादीलाई सिंहदरबारले बदलेको देखिन्छ । सिंहदरबार बदल्ने त नारामा मात्र सीमित भयो । सिंहदरबारले बदलेको नेताहरूको हाउभाउ र व्यवहारबाटै प्रष्ट छ नि ।
माओवादी पनि एमाले काँग्रेस वा पहिलेका दरबारिया पञ्चेहरूको संस्कारभन्दा फरक देखिएनन् । एजेन्डा केही उठाएका छन् । तर त्यो एजेन्डा स्थापित गर्न, राज्यको पुनर्संरचनातिर लाग्नेभन्दा पनि खालि शक्तिकै खेलमा लागेको देखिन्छ । जनताले अनुभूत गर्ने खालको परिवर्तन र सुधार खासै देखिएन । त्यो पनि नभए कमसेकम आस जगाउने काम जारी राख्नुपथ्र्यो । तर ती सबै छोडेको देखिन्छ ।
युग पाठक भन्छन् : ‘उनीहरूले सिहंदरबार बदल्न कोसिस नै गरेनन् ।’

नेपालमा जुन खालको पोलिटिक्स चलिरहेको छ । यो खालको पोलिटिक्समा पार्टीभित्र मन्त्री हुन मात्र होइन, पोजिसनमा आउन पनि हानथाप भइरहेको छ । त्यसको एउटा कारण हो गुट जोगाउनुपर्ने बाध्यता । माओवादीमा पनि त्यो चलिरहेकै छ ।
सामान्यतया पोलिटिकल पार्टी जुनसुकै प्रणालीमा भए पनि शक्ति आर्जन गर्ने र अभ्यास गर्ने औजार हो । अब शक्ति आर्जन गर्नका लागि वा अभ्यास गर्न मन्त्रीलगायत ठूलापदका लागि हानाथाप हुनेगरेका छन् । विगतमा जस्तै अहिले पनि त्यही देखियो ।
संसारले देखेकै कुरा हो– माओवादीलाई सिंहदरबारले बदल्यो । मेरो भनाइ के हो भने माओवादीले सिंहदरबार बदल्ने कोसिस नै गरेन । कुनै कुनै मन्त्रीहरूले अलिअलि कोसिस गरेको देखिन्थ्यो । तर मुख्य सिस्टमका कुरामा कोसिस भएन । माओवादी त सिस्टम परिवर्तन गर्न आएको हो । व्यवस्थाको परिधिभित्रको जति परिवर्तन गर्न सकिन्थ्यो त्यो पनि गरेन । उनीहरूले कोसिस नै गरेनन् । कोसिस गरेको भए सफल, असफल भन्ने त हुन्थ्यो त्यो केही देखिएन ।
जस्तो चलिआएको थियो, त्यही कुर्सीमा बसे । त्यही कुर्सीले उनीहरूको व्यक्तिगत जीवनशैली भने बदलियो । सत्ता बदल्न जनताले धेरै पटक माओवादीलाई मौका दिएकै छन् । तर माओवादी लगायत अरू सबै मन्त्रीहरू सत्ता आर्जन गरेर त्यसलाई भोग गर्ने खेलमा मात्र देखिए । यो प्रवृत्ति रहुन्जेल केही परिवर्तन हुँदैन ।







