
नेकपा माओवादी केन्दका नेता गोपाल किरातीले प्रचण्ड कम्पनीले आफ्नो समुहलाई एमालेमा लगेर बुझाएकाे आरोप लगाएका छन् ।
किरातीले गणतन्त्र निर्माणसम्म प्रचण्ड क्रान्तिकारी भएको तर एमालेसँग सात बुँदै सहमति गरेपछि प्रचण्ड सकिएको दाबी गरे ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै किरातीले प्रचण्डले एमालेकरण गरेको माओवादी केन्द्रलाई आफूहरुले सम्हाल्ने प्रयास गरिरहेको बताए ।
“एमालेले आफ्नो सिद्धान्त कायम गरेको छ । प्रचण्ड समुहले छोडेको छ । इतिहासमा ठूलो बेइमानी भएको छ ।किराँतीले भने । प्रचण्ड कम्पनी एमालेकरण भएर विलयमा जाने निश्चित भएको छ । अब हामी नेकपा माओवादी केन्द्र पुर्नगठन गछौँ ।”
प्रचण्ड दक्षिणपन्थी काण्डमा हाम्फालेको आरोप लगाउँदै उनले जनयुद्ध र शहिदको अपमान गरेको गंभीर अाराेप लगाए ।
आफू पदका लागि प्रचण्डसँग टाढिएको भन्ने टिप्पणीको खण्डन किरातीले गरेका छन् ।
“म सहजै मुख्यमन्त्री बन्न सक्थेँ । प्रतिनिधिसभामा पनि सुनसरी एकमा एमालेलाई छाडिदिएँ ।’ किराती भने- ‘प्रचण्डनिकट नेताहरुले राष्ट्रियसभा सदस्य बन्नका लागि पनि आग्रह गरेका थिए । मैले चाहिएन भनिदिएँ ।’
अबका दिनमा मोहन वैद्य, नेत्रविक्रम चन्द, आहुतिलगायतका नेतासँग मोर्चाबन्दी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।







