
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ कुनै समयमा हिरो भए पनि अहिले गुण्डा (खलनायक) भएको गंभीर आरोप लगाएका छन् ।
प्रचण्डकै गृहनगर चितवनको भरतपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै वैद्यले नेपाली राजनीतिमा पछिल्लो समय प्रचण्डले खलनायकको भूमिका खेलको बताए ।
एमाले र कांग्रेसजस्ता दलसँग सहकार्य गरेर प्रचण्ड र बाबुराम भट्टराईले क्रान्तिको खिल्ली उडाएको वैद्यकाे भनाइ थियो ।
प्रचण्ड र बाबुरामले १० वर्षे जनयुद्धमाथि घात गरेको आरोप लगाउदै वैद्यले सच्चा कम्युनिस्ट पार्टीलाई गोलबद्ध पारेर नयाँ जनयुद्ध गर्ने समेत चेतावनी दिए ।
नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा जनयुद्धका शहीद, बेपत्ता परिवार र घाइतेलाई अभिनन्दन गरिएको थियो ।







