संशोधनवादको चर्को हल्लीखल्ली र निजी सम्पत्ति आर्जनको तीब्र होडबाजीको यो परिवेशमा जनयुद्धलाई पराजित युद्धका रुपमा व्याख्या गर्ने र आफूभित्रको आत्मसुरक्षावादलाई बलियो कवच प्रदान गर्ने प्रवृत्ति हिजोआज चर्कै रुपमा बढिरहेको छ ।

विघटन र विसर्जनको यो अवस्थासम्म आइपुग्दा माओवादी आन्दोलनभित्र मूलतः तीनखाले प्रवृत्ति वैचारिक धारका रुपमा देखापरेका छन्– पहिलो, सशस्त्र सङ्घर्षको तरिकाले अब हुँदैन, शान्तिपूर्ण बाटोबाट जानुपर्छ भन्ने; दोस्रो, नेतृत्वको गद्दारी र धोकाले असफल भइयो– एकपटक सहरीया विद्रोहकै प्रयासमा लाग्नुपर्छ भन्ने; तेस्रो, चुनवाङ बैठकको समीक्षा गर्दै आधारभूत रुपले जनयुद्धको कार्यदिशालाई समृद्ध पार्नुपर्छ भन्ने । शान्तिपूर्ण बाटोको वकालत गर्ने कमरेडहरुका तर्क जेसुकै भए पनि त्यो ख्रुश्चोभी लाइनको नवसंस्करण मात्र हो । त्यसका अतिरिक्त भारतीय विस्तारवादसमक्ष गरिएको आत्मसमर्पण उक्त धाराको प्रमुख प्रेरक हो ।

तत्काल शान्तिपूर्ण कार्यनीतिलाई नछाड्ने, नेतृत्वको गद्दारी र धोकालाई सच्याएर जनताको ठूलो दबाव सिर्जना गरी संविधानसभाबाटै सके प्रगतिशील संविधान निर्माण गर्ने र नभए सशस्त्र विद्रोहको तयारी गर्ने भन्ने कमरेहहरुको प्रेरणा चुनवाङ बैठक हो । उहाँनहरुले नेतृत्वको गद्दारीलाई ठूलो कारण बनाइराख्नु भएको छ । ‘चुनवाङ ठीकै हो त्यसलाई कार्यान्वयन गरिएन र पो त !’ भन्ने उहाँहरुलाई परिरहेको छ । जब कि चुनवाङ दक्षिणपन्थी विचलन र आत्मसमर्पणको योग हो । गद्दारी चुनवाङपछि भएको होइन, बरु गद्दारीकै कारण चुनवाङको सिर्जना भएको हो भन्ने यथार्थतालाई उहाँहरुले बुझ्नुभएको छैन या बुझ पचाइरहनु भएको छ ।

यस्तैखाले तर्कअन्तर्गत नै रहेर केही कमरेडहरुले विद्रोहलाई रणनीतिक स्तरमा व्याख्या गर्ने कोसिस गरिरहनु भएको छ । जुन तर्कको तादात्म्यता पनि नेपाली समाजको आर्थिक–सामाजिक धरातलसँग बिल्कुल जोडिएको छैन । नियत जोसुकैको जतिसुकै पवित्र भए पनि प्रायोजित संविधानसभाबाट जनपक्षीय संविधानको अपेक्षा गर्नु अथवा जनसेना सम्पूर्ण रुपले विघटित गरिसकिएको अनि नेपाली समाजका आर्थिक–सामाजिक अन्तर्विरोधहरुमा समेत खासै ठूलो फेरबदल नआएको स्थितिमा विद्रोहलाई रणनीतिक विषय बनाउनु दुवै अवस्तुवादी कुरा हुन् ।

‘राजनीतिक कार्यदिशा सही या गलत हुनुले सबै कुराको निर्धाण गर्दछ’ कमरेड माओ त्से–तुङको यो भनाइ तर्कसङ्गत र सही छ । हामीसँग हिजो सही विचार र कार्यक्रम थियो, जसको कारण करिव निःशस्त्र अवस्थाबाट आधुनिक मेसिनगनसम्म प्राप्त भएकै हुन्, जनसत्ता र जनअदालत बनेकै हुन् । तर, आज कार्यदिशामा विचलन आएपछि सबैथोक गुमेका छन् । माओवादी आन्दोलन आज छिन्नभिन्न मात्र भएको छैन, नैतिक हिसाबले समेत नराम्ररी थलिएको छ । यसको केन्द्रमा चुनवाङ बैठक रहेको छ । त्यसको गहिरो समीक्षा गरेर नेपाली क्रान्तिको कार्यदिशालाई अझ समृद्ध पार्नुपर्छ भन्ने कमरेडहरुको तर्क वस्तुवादी र माक्र्सवादसम्मत छ ।

२. नेपाली सर्वहारावादी आन्दोलनको पुनर्गठन, नेपाली क्रान्तिको पुनर्गठन, माओवादी आन्दोलनको पुनर्गठन– जे भने पनि आजको सन्दर्भमा त्यो मूलतः जनयुद्धको कार्यदिशालाई समृद्ध पार्नु हो । जनयुद्धका सैन्य–रणनीतिहरुमा अझ निखार ल्याउनु हो । समग्रमा त्यो माओवादको दृढ आत्मसातीकरण हो ।

कतिपय कमरेडहरुले जनयुद्धलाई केवल सुतली बम र भरुवा बन्दुकबाहेक केही पनि देख्दैनन् । छापामार युद्धलाई मात्र जनयुद्ध भनीठान्छन् । ठूलठूला मोर्चाबद्ध युद्धहरु लड्नु र केन्द्रीय सत्ता कब्जा गर्नु पनि जनयुद्ध नै हो भन्ने सर्वहारा वर्गका अनुभवलाई उनीहरुले राम्ररी आत्मसात् गर्नुपर्छ । छापामार युद्धलाई मात्र जनयुद्ध देख्नु भनेको जनयुद्धको कार्यदिशालाई नबुझ्नु या एउटा पाटोको मात्र अध्ययन हो । छापामार युद्ध जनयुद्धको एक रणनीतिक तत्व हो । त्यसका साथै यो विकसित, आधुनिक युद्ध र नियमित सेनाले समेत प्रयोग गर्ने प्रतिरक्षात्मक युद्ध–रणनीति समेत हो ।

३. जनतामा व्याप्त अभाव र आक्रोशलाई जनताका दुश्मनहरुले जबर्जस्ती परिवर्तनका विरुद्ध प्रयोग गर्न खोज्छन् । नेपालमा आज त्यो माओवादी आन्दोलनका विरुद्ध प्रयोग भइरहेको छ । साँच्चै भन्ने हो भने आजको जस्तो घुस, भ्रष्टाचार जनयुद्धताका थिएन । सुदूर गाउँमा भ्रष्टाचारीलाई चारपाटा मुडेको समाचारले शहरका भ्रष्टाचारीको समेत सातो जान्थ्यो । आजको जस्तो दलितमाथिको भेद्भाव र महिला हिंसा जनयुद्धताका थिएन । दलित, महिला र उत्पीडित समुदाय नै मुक्ति र विद्रोहका संवाहक र परिचायक थिए ।

आज देशमा बेरोजगारीको विकराल स्थिति छ । जो संसदीय व्यवस्थाका ठेकेदारहरुका लागि एक डरलाग्दो खतरा बनिरहेको छ किनकि रोजगारीका लागि विदेशका गल्ली र मरुभूमि चहारिरहेका ५०औं लाख युवा–युवतीहरु र देशभित्रै रोजगारीको अभावले छट्पटिएका बेरोजगारहरु नै संसदीय व्यवस्थाका विरुद्ध तालिम लिइरहेका सिपाहीहरु हुन् । शोषित–पीडित सर्वहारा वर्ग, उत्पीडित क्षेत्र र समुदायका जनता अहिले पनि शोषणकारी बुर्जवा सत्ता विरुद्धका रणनीतिक अड्डा हुन् । यसर्थ, सन्निकट बिष्फोटको अवस्थालाई मध्यनजर गरेर बुर्जुवाहरुले जनयुद्धमाथि थोपरेको क्षणिक सङ्कटलाई माओवादकै पराजय भनेर चिच्याइरहेका छन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि नेपालजस्तो देशमा उत्पीडितहरुको मुक्तिको तरबार भनेकै माओवाद हो ।

४. यसका साथै नेपाली राजनीतिक इतिहासका अरु केही गम्भीर घटनाक्रमहरुको समेत समीक्षा गर्नु अत्यावश्यक छ । जस्तो कि नेपालको इतिहासमा अहिलेसम्मका कुनै पनि राष्ट्रवादी, जनपक्षीय, सर्वहारावादी आन्दोलनहरुमाथि दुईवटा नकारात्मक परिघटना पटक–पटक दोहरिएका छन् । जसमा या त नेतृत्वले सम्झौता गर्छ या मारिन्छ तब आन्दोलनहरु विसर्जित र विघटित हुन्छन् । यसरी धोका, सम्झौता, गद्दारी एवम् मृत्यु र पराजयका विरुद्धको उचित रणनीति तय गर्नु समेत जरुरी छ ।

यसर्थ, ‘माक्र्सवाद पुरानो भयो, अब यसको विकल्प खोज्नुपर्छ’ भन्ने संशोधनवादी गद्दारहरु र नेपाली जनतालाई सयौ वर्षदेखि शोषण गर्दै आइरहेका प्रतिक्रियावादी पुँजीवादका दलालहरुले उल्टै ‘जनयुद्धका कारण नेपाली समाजको अग्रगतिमा बाधा पुग्यो’ भन्नु कुनै नयाँ तर्क होइन । उनीहरुलाई हिजो पनि माओवाद र जनयुद्ध उग्रवाद र केवल एक जडसूत्र लाग्थ्यो, आज पनि जानीबुझीकन भन्दैछन् कि ‘जनयुद्धको रणनीति असफल भयो ।’

यथार्थमा असफल भएको जनयुद्धको रणनीति होइन, जनयुद्धको रणनीति छाडिएकाले चाहिँ माओवादी आन्दोलनले असफलता ब्यहोर्नुपरेको हो । माक्र्सवाद अजेय छ, जनयुद्धको रणनीति अपराजेय छ । असफलता संशोधनवादको हो, असफलता राष्ट्रिय आत्मसमर्पणवादको हो ।

अतः संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद र प्रतिक्रियावादमाथि भीषण हमला गरौं ! नेपाली क्रान्तिको झन्डालाई सगरमाथाको उचाइमा उठाऔं !!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार