खुमा तरमुमगर / बुटवल :

नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशैभर एकीकृत जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।

महासंघले पहिलो चरणको केन्द्रीकृत अभियान अन्तर्गत फागुन १७ गते नवलपरासीमा समीक्षासहितको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । उक्त प्रशिक्षणमा नेकपाका पोलिटब्युरो सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द वीरजंगले आजको मजदुर आन्दोलन र पार्टीले लिएको नीति तथा कार्यक्रमको बिषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य एवं महासंघका केन्द्रीय संयोजक अमर झाक्री मगरले महासंघको सांगठनिक, वैचारिक तथा संघर्षका कार्यक्रमवारे बोल्नुभएको थियो । उक्त कार्यक्रममा पश्चिम कमाण्डको तर्फबाट लोकबहादुर पल्ली मगर, मध्य कमाण्डको तर्फबाट गोकुल दाहाल, पूर्वी कमाण्डको तर्फबाट विजयराज प्यासी, आर्थिक विभागको तर्फबाट भीम अधिकारीले रिपोर्टिङ राख्नुभएको थियो । कार्यक्रममा ११५ जनाको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

त्यसैगरी महासंघले १२९ औं मे दिवसको अवसरमा पोखरामा छैठौं राष्ट्रिय सम्मेलन गर्ने तयारी समेत गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी महासंघले देशैभर प्रचार प्रसार, भित्ते लेखन, कोणसभा, चोक सभा, कारखान सभा, संगठन निर्माण तथा राजनीतिक वैचारिक प्रशिक्षणहरु सञ्चालन गरिरहेको समेत बताएको छ ।

महासंघ अन्तर्गत १९ वटा पेशागत संगठन रहेको संयोजक झाक्री मगरले बताउनु भयो ।  जसमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ, औद्योगिक मजदुर संघ, सेक्युरिटी मजदुर संघ, गलैचा मजदुर संघ, होटल तथा रेष्टुराँ मजदुर संघ, हाइड्रो तथा खानी मजदुर संघ, अटो रिक्सा मजदुर संघ, पर्यटन तथा एयरपोर्ट मजदुर संघ, निर्माण तथा ग्रिल मजदुर संघ, स्वास्थ्य तथा सरसफाई मजदुर संघ, सिलाई मजदुर संघ, गार्मेन्ट तथा कवाडी मजदुर संघ, संघसंस्था मजदुर संघ, कृषि तथा चियाबगान मजदुर संघ, नाई तथा ब्युटिपार्लर मजदुर संघ, थाङ्का तथा पेन्टर मजदुर संघ, ढुवानी मजदुर संघ, धातु मजदुर संघ रहेका छन् ।

महासंघले “राष्ट्रघात, जनघात, भ्रष्टाचार र मजदुर उत्पीडनका विरुद्ध हाम्रो अभियान !, एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादका पक्षमा छैठौं राष्ट्रिय सम्मेलन !!” नारा समेत तय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार