
नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध र सुखानीका सहिदहरुलार्इ संयुक्त रूपमा सम्झेकाे छ ।
सोमबार नेकपा कैलालीले जनयुद्धको सहिद सप्ताको समापन र सुखानी स्मृति सभाको अायोजना गर्याे।
कार्यक्रममा बोल्दै नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सहिदहरुले बलिदान गरेको उद्देश्यमा अाफूहरु अगाडि बढिरहेको बताए । पुनले सुखानीहुँदै जनयुद्धका सहिदहरुको सपना एक थरी नेताहरुले अपमान गरेको बताउँदै अाफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याएर सहिदका अधुरा सपना पूरा गरिछोड्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना घाइते अपांग योद्धा संघका केन्द्रीय अध्यक्ष प्रेम बयक, नेकपा कैलालीका सचिव गणेश ढकाललगायले सहिदका सपना पूरा गरिछोड्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
जनयुद्धका सहिदहरुको सम्झनामा फागुन १४ देखि २१ गतेसम्म तत्कालिन नेकपा (माओवादी) ले जनयुद्धकालमै सहिद सप्ताह मनाउन सुरु गरेको थियो ।
फागुन १४ गते जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको हत्या भएको थियो भने २०२९ फागुन २१ गते तत्कालिन पञ्चायत सरकारले झापाको सुखानीमा नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजवंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको सामुहिक हत्या गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले यसरी संझियो जनयुद्ध र सुखानीका सहिदहरुलाई ।








