
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनयुद्धका क्रममा खाराको दोस्रो असफल आक्रमणपछि प्रचण्ड र बाबुराम भारतमा गएर आत्मसर्पण गरेर जनयुद्धलार्इ समाप्त पारेकाे गंभीर आरोप लगाएका छन् ।
खारामा भएको असफल आक्रमणपछि प्रचण्ड र बाबुरामले भारतसँग संसदीय व्यवस्थामा फर्कने कबोल गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध संसदवादी दलसँग सम्झौतामा आएको महासचिव विप्लवको भनाई छ ।
आफ्नै पार्टी निकट रातोखबर साप्ताहिकमा महासचिव विप्लवले लामो लेख लेख्दै सारमा जनयुद्ध जित्न सकिदैन भन्ने निश्कर्षमा पुगेपछि संसदमा आफुहरुको जीवन व्यवस्थापन गर्ने लक्ष्यसहित चुनवानबा आएको अर्को खुलासा गरेका छन् ।
जनयुद्धमा प्रचण्डहरुले ठूल्ठूला सपना देखाएर जब आफुहरुले खतरा मोल्ने स्थिति आएपछि क्रान्तिकारी नेता, कार्यकर्ता र जनतालाई ढाँटेको महासचिव विप्लवको दाबी रहेको छ ।
विप्लवले भनेका छन् –
फागुन १ गतेको कान्तिपुरमा बाबुराम भट्टराईले त्यो सत्य ओकलेको पाइयो । उनले त्यहाँ सङ्कटकालपछि भारत र अमेरिकाले पुरानो सत्तालाई अत्याधुनिक हतियार सहयोग गर्न थालेपछि जनयुद्धद्वारा जित्न सकिँदैन भनेर संसदीय व्यवस्था (आधा संसदीय व्यवस्था) मा फर्किएको हो । यो कुरा सत्य हो, प्रचण्ड र बाबुराम खारा कार्बाहीपछि भारत गएर रूपमा ज्ञानेन्द्रविरुद्ध संसद्वादी पार्टीसँग संयुक्त मोर्चा बनाउने नीति लिए । सारमा जनयुद्धद्वारा जित्न सकिँदैन भन्ने भएपछि सुरक्षित जीवनमा पाएसम्म सत्तामा पुगेर नभए बाँच्न भए पनि फर्किनेसम्मको निष्कर्षमा पुगेको देखिन्छ । तर, यो कुरा उनीहरूले पार्टीलाई कहिल्यै पनि भनेनन् । बरु हामीले कुरा उठाउँदा अनेकौँ आरोप लगाउनेतिर लागे । विशेषतः प्रचण्डले यसो गरे । यति उनीहरूले पहिले नै यो कुरा भनेका हुन्थे भने शान्ति–प्रक्रिया नै सुरु हुने थिएन, या त्यहीँ भीषण सङ्घर्ष हुन्थ्यो । जनमुक्ति सेनासहितको ठूलो पङ्क्ति क्रान्तिमा रहन्थ्यो । क्रान्ति सफलतातिर अगाडि बढ्दथ्यो । शान्ति–प्रक्रियामा सबैले यो बुझेको भए पनि क्रान्तिकारीको ठूलो पङ्क्ति क्रान्तिमा फर्किन्थ्यो तर उनीहरूले जो ढाँटे, विशेषतः प्रचण्डले ।







