
नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इले जनयुद्धबाट अाएकाे शक्ति माअाेवादी केन्द्र र त्यसका नेता प्रचण्डलगायत नेताहरू बहादुरीपूर्वक एमालेमा विलय भएकाे बताएका छन् ।
इन्डाेनेशियाकाे बाली पुगेकाे भट्टरार्इले सामाजिक संजाल फेसबुकबाट लामाे स्टाटस लेख्दै एमालेमा विलयलार्इ प्रचण्डहरूले ठूलाे पाैरखकाे रूपमा लिएकाे उल्लेख गरेका छन् ।
भट्टरार्इले सामाजिक संजाल फेसबुकमा लेखेका छन् –
यो नेपालमा नयाँ ढंगको क्रान्ति गर्ने र क्रान्तिलाई निरन्तरता दिने नितान्त नयाँ कार्यदिशा हो। यसलाई सग्रतामा नबुझ्ने र दृष्टिविहीनले हात्तीलाई गलत ढंगले बुझ्ने नीतिकथा झैं केही मानिसहरू आआफ्नो बुझाइ अनुरूप नपाए पछि नयाँ शक्ति अभियानबाट पलायन भएका छन्। त्यो स्वाभाविक प्रक्रिया पनि हो।
विडम्बना के भएको छ भने जनयुद्ध, मधेसी–थारू–जनजाति आन्दोलनबाट थाकेकाहरू अब ध्रुवीकरण वा आवश्यकताको नाउँमा पुरानै यथास्थितिवादी एमाले र कांग्रेसमा विलीन हुने दौडमा छन्। चिन्तन र ज्यानमा निरन्तर क्रान्तिको झिल्को निभिसकेका र खरानीको थुप्रो मात्र बाँकिरहेकाहरू ‘बहादुरीपूर्वकक’ पछि हट्दैछन् र एमालेमा विलयलाई ठुलो पौरखको रूपमा नगरा बजाइरहेछन्।
हामी नयाँ चरणको समतामूलक समृद्धिको बाटो हुँदै समुन्नत समाजवाद तर्फको लामो यात्रामा लामबद्ध भएकाहरू Pilgrim’s Progress मा झैं कदम कदम गर्दै अघि बढ्दैछौं। निरन्तर अघि बढिरहनेछौं।







