क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भन्दा धेरै पहिले नै माओवाद छोडेको आरोप लगाएका छन् ।
नेता श्रीसले जनयुद्धकालमा जब प्रचण्डले २१ औं शताव्दीको जनवाद नामक प्रस्ताव लिए, त्यही विन्दुबाट प्रचण्डले माओवादी छोडेको आरोप लगाए ।
आफ्नो पाटीको अनलाइन मूलबाटोमा लामो लेख्दै यस्तो अाराेप लगाएका हुन् ।
श्रीसले लेखेका छन् –
अहिले प्रायः छापाहरूमा र सामाजिक सञ्जालमा माओवादी केन्द्रले विशेषतः प्रचण्डले माओवाद छोड्यो, एमालेमा विलय भयो भन्ने कुराहरू आइरहेको छ, यो कुरा वास्तविक होइन ।
प्रचण्डले माओवाद अहिले छोडेको होइन । उहिले नै शान्ति प्रक्रियामा आउनु भन्दा पहिले नै उनले माक्र्सवादका आधारभूत सिद्धान्तहरू अर्थात माओवाद छोडिसकेका थिए । उनको माओवाद पदावलीमा मात्र सीमित थियो । जब उनले एकाइसौं शताब्दीको जनवादको विचार अगाडि ल्याए त्यसबेलादेखि नै उनले माओवाद छोडेका थिए । मालेमावादको मुख्य कुरा भनेको सर्वहारावर्गको अधिनायकत्व हो ।
‘राज्य र क्रान्ति’ भन्ने आफ्नो प्रसिद्ध रचनामा लेनिनले भनेका छन् “जो मात्र वर्गसंघर्षलाई मान्दछ त्यो अझै माक्र्सवादी होइन । त्यो अझै पनि पुँजीवादी सिद्धान्त र पुँजीजीवी राजनीतिको घेराबाट बाहिर निस्केको नहुन सक्छ । माक्र्सवादलाई वर्गसंघर्षको सिद्धान्तसम्म मात्रै सीमित राख्नुको अर्थ हो माक्र्सवादलाई लंगडो तुल्याउनु, त्यसलाई बंग्याउनु र त्यसलाई पुँजीजीवी वर्गको निम्ति मान्य हुन सक्ने किसिमको बनाउनु । मात्र त्यो माक्र्सवादी हो जो वर्गसंघर्षको मान्यतालाई सर्वहारावर्गको अधिनायकत्वको मान्यतासम्म नै लागु गर्दछ । एक माक्र्सवादी र एक साधारण निम्न (र उच्च समेत) पुँजीजीवीको बीचमा सबभन्दा गम्भीर अन्तर यही हो । यसै कसीमा घोटेर नै माक्र्सवादको वास्तविक समझदारी र मान्यताको परीक्षा गरिनु पर्दछ ।’
प्रचण्ड बाबुरामले प्रस्तुत गरेका एकाइसौं शताब्दीको जनवादमा लेनिनका उक्त भनाइको उल्टो छ । त्यसमा विभिन्न तर्क जे गरेता पनि सारमा घुमाउरो रूपमा सर्वहारा अधिनायकत्वको विरोध गरिएको छ । एकाइसौं शताब्दीको जनवादले कसरी सर्वहारा अधिनायकत्वको विरोध गरेको छ भनेर विस्तृत रूपमा व्याख्या गर्न यस सानो लेखमा सम्भव छैन । सर्वहारा अधिनायकत्वको विरोध घुमाउरो रूपमा एकाइसौं शताब्दीको जनवादमा कसरी गरिएको छ भन्ने विश्लेषण अन्यत्र गरौंला ।







