माअाेवादी केन्द्रका एक पाेलिटव्युराे सदस्य ओमविक्रम भाट ‘सरल’ ले एमाले र माअाेवादी केन्द्रबीच बन्ने भनिएकाे नेकपा विप्लव नेतृत्वकाे नेकपा मुख्य चुनाैती भएकाे बताएका छन् । उनले विप्लवले उठाएका मुद्धालार्इ राजनीतिक ढंगले हल गर्नु पर्ने सुझाएका छन् ।

एक दैनिक पत्रिकामा लेख लेख्दै उओमविक्रम भाट ‘सरल’ ले विप्लव नेतृत्वकाे नेकपालार्इ दमनबाट सिध्याउन खाेजिए त्याे दुर्भाग्यपूर्ण बताएका छन् ।

भाटले लेखेकाे सम्पादित अंश यस्ताे छ –

पार्टी एकताका आधार सार्वजनिक गरेको भोलिपल्टै विप्लवको बन्द संयोग मात्रै नहुन सक्छ । ‘नेकपा’ नामको लडाइँ मात्रै होइन, देशमा फरक–फरक धारमा संघर्ष हुन सक्ने देखिन्छ । पार्टी एकीकरणपछि नाम उस्ताउस्तै भए पनि कार्यनीति मिल्नेछैन विप्लव नेकपासँग ।

शान्ति–प्रक्रिया टुंगोमा पुग्नै लाग्दा विप्लवका क्रियाकलापले अन्तर्राष्ट्रिय समुदायसामु नकारात्मक सन्देश जाने निश्चित छ । अर्कातिर, एकता प्रक्रियाबाट असन्तुष्ट केही नेता कार्यकर्ता विप्लवतिर आकर्षित हुने अनुमानलाई नकार्न सकिँदैन । विप्लवसँग वैद्य माओवादी र एकताप्रति असन्तुष्ट समूह मिलेर विद्रोही शक्तिको रूप लिन सक्छ । जुन समूहले असन्तुष्टिको प्रतिनिधित्व गर्नेछ ।

लेखक ।

विप्लव समूहले असन्तुष्टिको प्रतिनिधित्व गरिरहँदा आन्तरिक शान्तिसुरक्षामा समस्या निम्तिन सक्छ । समृद्धिको खाका कोर्नतिर लाग्नुपर्ने सरकारसामु शान्तिसुरक्षा व्यवस्थापनका जटिलता देखिनेछन् । लगानीमैत्री वातावरण नपाउँदा लगानीकर्ता बिच्किनेछन् । जुन आर्थिक वृद्धि र समृद्धिका लागि बाधक बन्न सक्छ।

विप्लव नेतृत्वको नेकपाले शक्तिको रूप लिनेबित्तिकै नेपालमा शान्ति, स्थिरता र समृद्धि देख्नै नचाहने शक्तिले चलखेल थाल्नेछ । अस्थिरता र अशान्ति चाहने शक्तिले संघर्षरत पक्षलाई आर्थिक र भौतिक समर्थन गर्ने पाटोलाई नकार्न सकिँदैन । एमाले र माओवादी केन्द्र मिलेको नरुचाउने बाह्य शक्तिलाई अशान्ति उन्मुख संघर्ष कोसेढुंगा सावित हुनेछ । सत्ताधारी ‘नेकपा’ र विद्रोही ‘नेकपा’बीचको द्वन्द्व देशका लागि घातक बन्न सक्छ । तसर्थ, विप्लव नेतृत्वको नेकपालाई विदेशी हतियार बन्नुअघि नै सहमतिमा ल्याउनु अपरिहार्य छ । विप्लवलाई पक्राउ गर्ने वा थुनेर आन्दोलन साम्य पार्न खोजियो भने त्यो समूहको ‘रिमोट कन्ट्रोल’ विदेशीको हातमा जान सक्छ ।

ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय सम्हालेपछि विप्लवको सामना बादलले गर्नुपर्ने भएको छ । ‘कटवाल प्रकरण’को अपजसले अहिलेसम्म आलोचना भोगिरहेका बादलसामु विप्लव समूहको अपजससमेत आइलाग्न सक्छ । तसर्थ, बादल संवेदनशील भएर विप्लवको राजनीतिक लाइन परिवर्तन गराउँदा जसका भागिदार बन्न सक्छन् । विप्लवलाई चिढ्याउने र दमन हुने खालका गतिविधि गृह प्रशासनबाट भए द्वन्द्व बढ्दै जाने निश्चित छ । तसर्थ, आक्रामक स्वभावका प्रधानमन्त्री ओलीलाई सम्हालिन सुझाब दिँदै अन्तर्मुखी स्वभावका बादलले विप्लवका मुद्दालाई निरुत्साहित गर्नुपर्छ ।

दमन गरेर विप्लवलाई निस्तेज पार्न खोजियो भने उनले आक्रामक हुन र आन्दोलन गर्न थप मुद्दा पाउनेछन् । यसबाट उनलाई बन्द हडताल र संघर्षका कार्यक्रम गरिरहन ठाउँ मिल्नेछ ।

(भाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार