
माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने भएको छ।
एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादी केन्द्रले महरालाई अगाडि सार्न लागेको हो।
नेताहरूसँग अनौपचारिक छलफलक्रममा प्रचण्डले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो।
शनिबार दिउँसो १ बजे संसद्मा सभामुखका लागि निर्वाचन गर्ने संसद्को कार्यसूची छ। शुक्रबार (आज) बिहान १० बजेदेखि १ बजेसम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संसद् सचिवालयले बनाएको छ।
माओवादी केन्द्रभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी छन्। तर, अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सारेका हुन्।
महरा माओवादी केन्द्रभित्र यस्ता नेता हुन्, जसले शान्ति प्रक्रियामा माओवादी आएयता सबैभन्दा बढी अवसर प्राप्त गरेका छन्।
०६३ यता उनी कुनै न कुनै सुविधाको पदमा निरन्तर छन्। निर्वाचनअघिसम्म पनि उनी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। पार्टी प्रवक्ता तथा विदेश विभागजस्ता महत्वपूर्ण जिम्मेवारी पटक पटक सम्हालेका उनी २०६३ मा अन्तरिम विधायक हुँदै संसद् प्रवेश गरेयता अहिलेसम्म निरन्तर संसद्मा छन्।
अहिले पनि उनी दाङबाट संसद्मा प्रतिनिधत्व गर्छन्। महरा २०६३ मा सञ्चारमन्त्री, २०६४ मा संविधानसभा सदस्य हुँदै २०६५ मा पुनः सञ्चारमन्त्री, २०६७ मा गृहमन्त्री भएका थिए।
त्यस्तै, उनी २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधान तथा अर्थमन्त्री र पछिल्लोपटक २०७४ मा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए।
उनले २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट संसद्मा प्रतिनिधित्व गरेका थिए।
महरालार्इ अवसरै अवसर
| २०६४ | संविधानसभा सदस्य | ||
| २०६५ | सञ्चारमन्त्री | ||
| २०६७ | गृहमन्त्री | ||
| २०७० | संविधानसभा सदस्य | ||
| २०७३ | उपप्रधान तथा अर्थमन्त्री | ||
| २०७४ | उपप्रधान तथा परराष्ट्रमन्त्री |







