२०३० को दशकमा अर्घाखाँची बालीमा जन्मेका अर्जुन ज्ञवाली वामपन्थी विचारसँग नजिक र स्वतन्त्र व्यक्तित्व हुन् । बाइबल र माओवाद, वैदिक साम्यवाद योगी नरहरिनाथ पुस्तक सम्पादन गरेका ज्ञवालीसँग २०७४ सालको निर्वाचन र समसामयिक विषयमा गरिएको कुराकानी :

अहिले वाम गठबन्धन्को पूर्ण महुमत आएको छ । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको दृष्टिमा कसरी हेर्नुभएको छ ?

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासतर्फ जाने हो भने २००६ सालमा स्थापित नेकपामै विवाद छ । नेपाली राष्ट्रिय काँग्रेसका कार्यालय सचिव पुष्पलाललाई डा. केशरजंग रायमाझीले माक्र्सवाद अध्ययनमण्डलमा लागेर यो आन्दोलनको विजा रोपण गरे । तर पछि रायमाझी लगायतलाई नसोधि ३ जना तत्कालीन राणा सरकारले जासुसि गर्न पठाएका गुप्तचर राखेर आफैं कम्युनिष्ट पार्टी घोषणा गरे, यो इतिहासको कटु सत्य हो ।

पुष्पलाललाई त संस्थापक मानिन्छ नि ?

हो त्यहि घोषणाका आधारमा संस्थापक मानियो, पछि विवाद भयो, महाधिवेशनले उनलाई हटाएर मनमोहन अधिकारीलाई ल्यायो ।

प्रसंग बदलौं अहिलेको गठबन्धन र वाम विजयलाई कसरी हेर्नुभएको छ ?

हेर्नोस् यो गठबन्धन पुष्पलाल, मनमोहन या रायमाझी लिगेसीको शक्ति होइन, २०२५ सालको झापा विद्रोह र २०५२ सालको माओवादी विद्रोहको लिगेसी हो । यो मदन भण्डारी लिगेसी पनि होइन, मदन भण्डारी पुष्पलालकै मुक्ति मोर्चामार्फत माले बनेका छन् । वामदेव गौतम र मोदनाथ प्रश्रित पनि झापा विद्रोहका होइनन् । केपी, मोहनचन्द्र, सीपी, राधाकृष्ण मैनाली झापा विद्रोहका हुन् ।

केपी ओलीले त यसलाई मदनकै निरन्तरता भन्नु भएको छ ?

यो त संसदीय प्रतिस्पर्धात्मक राजनीतिसम्म मात्र हो पुष्पलाल, मनमोहन्, मदन भण्डारी, डा. केशरजंग रायमाझीले त बन्दुक उठाउनु त भएननी, अहिलेको गठबन्धन त आ–आफ्ना समयमा बन्दुग उठाउने दुईवटा शक्तिबीच हो । यो कुरालाई बिर्सनु हुँदैन ।

तपाईंको कुरा अलि बुझ्नेगरी प्रष्ट्याई दिनोस न !

२०२८ सालको झापा विद्रोहभित्र ३ फ्याक्टर छन् । एउटा जनपक्षीय, जसले पञ्चायती चुनावमा भाग लियो, यिनीहरुको केन्द्र पशिचमा क्रिस्चियन् हो । दोस्रो भूमिगत यो समूह गुप्तचरहरुको समूह हो । तेस्रो समूह जेल बस्ने यो क्रान्तिकारी समूह नै हो । किनकि एउटै पार्टीमा कोही जेल, कोही खुला र कोही जनपक्षीय यस्तो पनि कहि हुन्छ ? केपी ओली सामो समय जेल बस्ने मध्येमा पर्दछन् ।

संसदीय व्यवस्थामा त सबै आए नि त ?

हो आए, जतिबेला नेपाली काँग्रेसले राजतन्त्र सहितको संसदीय व्यवस्थाको नेतृत्व ग¥यो त्यहाँनिर डा. केशरजंग रायमाझी, मनमोहन, मदन भण्डारी र पुष्पलालको संसदीय धार रह्यो, यो धारको प्रभाव थियो । जब काँग्रेससहित नेपाली सेना माओवादी एजेण्डामार्फत गणतन्त्रमा गए संसदीय धारभन्दा क्रान्तिकारी धार अघि बढ्यो ।

तपाईंले नेपाली सेना र काँग्रेसलाई एउटै कित्तामा जोड्नुभो गणतन्त्रसँग यो त अलि मिलेन नि ?

होइन नेपालमा राजतन्त्र– रुस, चीनमा जस्तो क्रान्तिले फालेको त होइन । १२ बुँदे दिल्ली समझौतामा त्यो मुद्दा नै छैन । पछि आफ्नै परमाधिपति राजाको रक्षामा सेनापनि उभिएन, संवैधानिक राजतन्त्रवादी काँग्रेस पनि उभिएन, राजतन्त्र गयो । राजा नरहे काँग्रेस रहँदैन भन्ने कुरा कृष्णप्रसाद भट्टराइले बुझेरै काँग्रेस परित्याग गरेको होइन !

त्यसोभए गणतन्त्रवादी काँग्रेस र सेना हन् ?

हो कम्युनिष्ट त जहिले पनि गणतन्त्रवादी नै हुन्छन् । यहाँका कम्युनिष्टले सत्ता कब्जा गरेर गणतन्त्र घोषणा गरेको त होइन नि ! काँग्रेस र सेनाले छोडिदिए गणतन्त्र आयो ।

तपाईंले वडा महत्वपूर्ण कुरा गर्नुभयो । त्यसोभए अब के होला ?

अब वामपन्थीको सरकार बन्छ । यो सरकारले विगतमा आफैंले गरेको चीनसँगका सम्झौता कार्यान्वयनमा लैजान्छ । त्यो अवस्थामा नेपालको भूराजनीति सन् १८९० भन्दा अगाडि जान्छ ।

कसरी ?

इजरायल–प्यालेसटाइनको अफिमयुद्धदेखि मुक्ति युद्धसम्म भन्ने चीनको १०९ वर्षको इतिहास हेर्नोस् १८९० भन्दापूर्व हामी भारत निर्भर थिएनौं, चुरो कुरा यही हो ।

यो वामगठबन्धन टिक्दैन, राजा काँग्रेस एकै ठाउँमा आउँछन् र अर्को कोर्ष लिन्छ भन्ने पनि छन् नि ?

मुलुक पछाडि फर्कन सकदैन, कम्बोडियामा नरोद्दम सिंहानुकलाई जसरी सेनाले वेइमानी ग¥यो यहाँ काँग्रेस र सेनाले राजतन्त्रप्रति त्यसरी नै घात ग¥यो । यसको अर्थ राजाको बाटो वाम गठबन्धनसँग सहकार्य गरेर ंिहानुक जस्तै अधि बढ्नु हो त, यो बाटो पृथ्वीनारायण शाह, बहादुर शाहको लिगेसीको बाटो हो ।

वामगठबन्धन टिकेन भने ?

हो त्यहाँ धेरै समस्या छ, एमालेभित्र एनजीओ सञ्चालन छ भने माओवादी केन्द्रभित्र चर्चको सञ्जाल, यी दुवै समूह गठबन्धन तोड्न लाग्नेछन्, त्यतिबेला भूराजनीतिक प्रभाव पर्नसकछ ।

तपाईं सुराजनीतिक प्रभावको कुरा गर्नुभयो कसरी ?

एनजीओ र चर्चमा पश्चिमा छन्, त्यसमा यो गठबन्धन तोड्न भारत लागिरहेको छ भने चीनले एनजीओ र चर्च सञ्चाल तोड्दै वाम एकता कायम राख्न पहल गर्नेछ ।

चीन अब कसरी अघि बढ्ला ?

यो माओकालीन चीन होइन । श्रीलंकाबाटनै हेरौं महिन्द्रा राजापक्षेमार्फत आफ्नो उपस्थिति कसरी बढायो । अहिले वाम गठबन्धन नवनेको भए केपी ओलीलाई राजापाक्षे बनाउने थिए । गठबन्धनले तोड्यो । यो अवस्थामा स्वभाविक रुपमा वामगठबन्धन अनुकूल हुन सक्छ ।

तपाईंले धर्म निरपेक्षता विरुद्ध अभियान चलाइरहनुभएको छ । यो वाम गठबन्धन त तपाईंहरुको प्रतिकूल भएन र ?

ठीक प्रश्न गर्नुभयो, हामीले धर्म निरपेक्षता विरुद्ध मात्र होइन साँस्कृतिक साम्राज्यवाद विरुद्धको अभियान हो । यो चीन र चीनियाँ जनता नेपाली जनताको पनि अभियान हो । काँग्रेस र दक्षिणपन्थीहरुले साँस्कृतिक साम्राज्यवाद विरोधी नेतृत्व लिन सकदैनन्, त्यसकारण त्यो पहल हामी वामपन्थीहरुले गरेका हौं । किनकि ७ प्रदेश संघीयता, धर्म निरपेक्षता पशिचमा ऐजेन्डा हुन् । त्यसकारण संविधान संशोधनमार्फत ३ प्रदेश संघीयता एकात्मक राज्य अन्तर्गत कोशी, गण्डकी, कर्णाली र धर्म निरपेक्षताको खारेजी गर्नुपर्दछ ।

धर्म निरपेक्षता खारेज नगरे वाम गठबन्धनलाई के असर गर्छ ?

हेर्नोस् सन् १९७० को दशकमा भारतमा इन्दिरा गान्धीले धर्म निरपेक्षता राख्ने हठका कारण ८० को दशकमा २ सिट ल्याएको भाजपाले आज भारत कब्जा ग¥यो । काँग्रेस आईको हालत कम्युनिष्टको सफाया भयो, त्यसबाट ओलीले पाठ सिक्दा राम्रै हुन्छ ।

वाम गठबन्धनमा त निरपेक्षतावादी नि ?

हो एनजीओ र चर्चका मान्छे छन्, उनिहरु त यो गठबन्धनलाई ऐजेण्डामा जान नदिएर साम्राज्यवादकै रक्ष ागर्ने न हुन् । त्यसलाई गठबन्धनले तोड्नु पर्दछ, यो अनिवार्य पाटो हो ।

काँग्रेसको अवस्था के होला ?

नेपाली काँग्रेस टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंहको लाइनमा उभिने कि विपी कोइरालाको साम्राज्यवादी लाइनमा ? जसरी चीनमा च्याङकाइशेक तत्कालिन डा. सनयात्सेनको प्रगतिशिल राष्ट्रवाद छोडेर जापानी साम्राज्यवादसँग जोडिंदा समाप्त भए काँग्रेस पनि टंकप्रसाद लाइन बाहिर गएकोले च्याङकाइशेक मार्ग नै हो भन्दा अतियुक्ति नहोला । इतिहास हेर्ने हो भने टंकप्रसादलाई हाइज्याक गर्दै काँग्रेसले सधैं साम्राज्यवादको आडमा कमजोर राजालाई धम्क्याएर खाएको मात्र हो, अब त्यो सम्भव छैन । काँग्रेसको समाप्तिलाई संसारको कुनै पनि शक्तिले रोक्न सकने छैन ।

राजतन्त्रको अवस्थाबारे केही छ कि ?

हेर्नोस् २०५८ जेठ १९ मा राजा वीरेन्द्र राजाहुँदै हत्या भयो । अहिले पूर्व राजाको सेफल्याण्डिङ्ग भएको छ । सिंहानुक जस्तै देशको लागि काम गर्नसकने आधार धरातल निर्माण भएको छ । यसलाई सदुपयोग गर्दा ारम्रै हुन्छ । हो साम्राज्यवादीहरु तिलमिलाइएका छन् । पूर्व राजाको ब्यानरलाई प्रयोग गर्न पनि खोज्लान् त्यो बाटो आत्मघात शिवाय केही हुन सकदैन भन्ने कुरा बुझ्न जरुरी छ ।

देशको राष्ट्रियता संकटमा छ कसरी तपाईंले भने जस्तो सम्भव होला ?

हो संकटमा छ । तर हामीले त्यसबाट मुक्त हुने र राष्ट्र विरोधि कूतत्वलाई कमजोर बनाएर अघि बढ्ने रणनीति तय गर्नु पदर्बछ । तयो सम्भव छ । काँग्रेस रुट आउट हुनु राष्ट्र विरोधी शक्ति केन्द्र कमजोर हुनु हो । अब एमाले र माओवादी भित्रका एनजीओ र भिशनरीका एजेन्टहरुलाई कमजोर पार्नु पर्दछ । त्यसको लागि अभियान नै चलाउनु पर्दछ ।

अहिले एकथरी (जस्तो डा. केवि रोकाय) जस्ता हिजो माओवादीलाई सहयोग गर्नेहरु राजतन्त्र, हिन्दै राष्ट्र भन्दै छन् कसरी हेर्नुभएको छ ?

डा. रोकाय स्वयं चर्चमण्डलीका अध्यक्ष हुन्, हिजो माओवादीमार्फत माओको आवरणमा सिआईएको लागि काम गर्ने उनी जस्तालाई अहिले चीनको प्रवेश र आक्रामक कार्यशैलीबाट घायल छन् । भारतका आनन्दस्वरुप वर्मा जसको आवरण वामपन्थी छ, उनी दक्षिण कोरियन चर्चमार्फत सिआइएको लागि काम गर्दछन् । उनीहरु अहिलेको वाम गठबन्धन विरोधी छन् । समग्रमा पश्चिमा ऐजेन्सीका मान्छे हुन् । जो नेपालमा अस्थिरता चाहान्छन् । यस्ता मान्छेहरु छन् सिआइएको बौद्धिक केन्द्र कार्टर सेन्टर बदनाम भएपछि +२५ समुहको आवरणमा पश्चिमाहरुले धन्दा चलाइरहेका छन्, यस्ता पात्रहरु संलग्न छन् ।

त्यसो भए एमाले–माओवादी केन्द्र पुरै सच्चिएको हो ?

होइन, समग्रमा हेर्नुपर्दछ, माओवादी एमालेभित्र पश्चिमाको विशाल सञ्जाल छ, त्यसलाई क्रमशः तोड्दै जानुपर्दछ । तथापि अहिले हामीसँग योभन्दा उत्तम विकल्प नि त छैन । यो अवस्थामा चीनसँग सम्झौता ओलीले नै गरे र उनीमार्फत नै कार्यान्वयन गर्न सहज हुन्छ यो कटु सत्य हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार