
नेकपा एमालेका नेता भरतमाेहन अधिकारीले जनताकाे बहुदलीय जनवाद साेभियत रूसमा समाजवाद ढलेपछिकाे तीताे अनुभवपछि संश्लेषण गरिएकाे नितान्त नयाँ सिद्धान्त भएकाे बताएका छन् ।
एमाले नेता अधिकारीले त्याे बेला ९० काे दशकका रूसकाे भ्रमण सकेर नेपाल फर्कदा समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धा दिनु पर्ने विकल्प नदेखेपछि एमालेले जबज संश्लेषण गर्न पुगेकाे जिकिर गरेका छन् ।
अधिकारीले नयाँ पत्रिका दैनिकसँगकाे कुराकानीमा जबजकाे सिद्धान्त अाफुले नै नामाकरण गरेकाे दाबी गरेका छन् ।
जबज कसरी संश्लेषण हुन पुग्याे ? अधिकारीकाे अनुभव यस्ताे छ :
त्यतिवेलाको विश्व कम्युनिस्ट आन्दोलनको परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी बढाउने भन्नेबारे गहिराइसाथ बहस र छलफल गथ्र्यौं । त्यो प्रसंगअघि म भर्खर रुस भ्रमणबाट फर्किएको थिएँ । जतिवेला सोभियत रुसमा कम्युनिस्ट शासन ढल्नै लागेको थियो । मिखाइल गोर्भाचोभ कम्युनिस्ट पार्टीका महासचिव र राष्ट्रपति थिए ।
आफ्नै आँखाले सोभियत युनियनमा देखिएको त्यसवेलाको विकृति मैले मदन र माधव कमरेडलाई सविस्तार बताएँ । त्यस क्रममा हामी बहुदलीय प्रतिस्पर्धा, खुला समाज र विधिको शासन, मौलिक अधिकार, प्रेस स्वतन्त्रता, जनताको सार्वभौमसत्ता अनिवार्य हो भन्ने निष्कर्षमा पुग्यौँ र संविधानको मस्यौदा कस्तो बनाउने सल्लाह गर्यौँ ।
अन्तर्राष्ट्रिय अनुभवका आधारमा हामीले त्यसवेला गरेको छलफलका आधारमा ती सबै विषय कम्युनिस्ट पार्टीले सरकार बनाएपछि पनि सुनिश्चित गर्नुपर्ने हाम्रो निष्कर्ष रह्यो । नयाँ सोच बनाएर जानुपर्छ, कम्युनिस्टकै नेतृत्वमा समाजवाद आउँदा पनि ती सबै विषयलाई लागू गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ ।
मैले संविधानमा बहुलवादी समाज हुनुपर्छ भन्ने धारणा राखेँ । तर, मदनजीले बहुदलीय प्रतिस्पर्धा राखिसकेपछि बहुलवादी समाजवाद किन राख्नुपर्यो भन्दै प्रतिवाद गर्नुभयो । मैले उहाँलाई बहुदलीय प्रतिस्पर्धा भनेको राजनीतिक पार्टीबीचको प्रतिस्पर्धा हो तर बहुलवादी समाज भनेको समाजमा राजनीतिक पार्टी मात्र होइन, अन्य संघ–संगठन पनि छन्, उनीहरूको सोच र दृष्टिकोण, स्वार्थ भिन्नभिन्न छन् ।
पछि उहाँसहित हामी एउटा सहमतिमा पुग्यौँ । संविधान निर्माणमा उहाँले हामीलाई धेरै ठूलो आडभरोसा दिनुभयो ।







