
ओली सरकारको महत्वपूर्ण खम्बाका रूपमा रहेको नेकपा माओवादी केन्द्रमा ओली सरकारमा रुकुमेली माओवादी केन्द्रको बेहाल भएको छ । सधैंजस्तै यो पटक पनि रोल्पाली माओवादी केन्द्र भने मालामाल भएकाे छ ।
माओवादी जनयुद्धकालदेखि नै रुकुमेली माओवादी र रोल्पाली माओवादीका बीचमा ठूलो अान्तरिक द्वन्द्व रहेको थियो । पछिल्लो समयमा रुकुमेली माओवादी केन्द्र नेता जर्नादन शर्मा हाबी हुँदै गएपछि भिन्नभिन्न मोर्चा खडा गरेर बसेका रोल्पाली माओवादी केन्द्र एकै ठाउँमा उभिएका थिए । त्यही कारणले रुकुमेली माओवादी केन्द्र नेता शर्माको बेहाल बनाएको चर्चा पेरिसडाँडातिर सुनिन थालेको छ ।
तर रोल्पाली माओवादी केन्द्रका नेताहरू भने सबै मालामाल भएका छन् । रोल्पाका नेतामध्ये दुईजना सम्माननीय भएका छन् भने एक जना केन्द्र सरकारमा माननीय मन्त्री त्यो पनि विगतमा रुकुमेली नेताले सम्हालेको मन्त्रालय हात पारेका छन् । रोल्पाका कृष्णबहादुर महरा संघीय संसद्को सभामुख हात पार्न सफल भएका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि एकपटक पनि सत्ताबाहिर नबसेका महरा यो पटक सभामुख भए । त्यसैगरी अर्को रोल्पाली माओवादी केन्द्रका नन्दबहादुर पुन फेरि उपराष्ट्रपति बनेका छन् । अर्का रोल्पाली नेता वर्षमान पुन अघिल्लो केपी ओली सरकारका पालामा रुकुमेली नेता शर्माले सम्हालेको र अहिले मन्त्रालयहरू गाँभिएर सिँचाइसमेत गाँभिएको ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
महरा, वर्षमानमात्र होइन, बादलसँगै एकता प्रक्रियामा आएकी जयपुरी घर्तीदेखि उपराष्ट्रपति नन्दबहादुर पुनसमेत एउटा गुटमा उभिएर रोल्पालीको शक्ति सञ्चय गर्न लागेका थिए । त्यो सञ्चय गरेको शक्तिअनुसारको आर्जन गर्न रोल्पाली माओवादी सफल भएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री जनार्दन शर्माले पार्टीमा खासै छलफल नै नगरी असोज १७ गते एकाएक प्रचण्डलाई प्रभावमा पारेर एमालेसँग गठबन्धन बनाएपछि सबै माओवादी केन्द्रकाे रोल्पाली समुह अत्तालिएकाे छ । तर ओली सरकारलाई पूर्णता दिने बेलासम्ममा रोल्पाली माओवादीहरूले रुकुमेली माओवादी केन्द्रका नेता शर्मालाई पल्लो भित्तो पु¥याउन सफल भएका छन् ।







