
भारतमा ३० हजारभन्दा बढी किसानहरु नाशिक जिल्लाबाट १६७ किलोमिटर पैदल हिँडेर भारतको आर्थिक राजधानी मुम्बाईमा विरोध प्रदर्शनका लागि पुगेका छन् ।
उनीहरुको ऋण मिनाहा गरिदिन र उत्पादित कृषि सामग्रीहरुको उचित मूल्य तोक्नको लागि सरकारलाई दबाब दिन उनीहरुले सो विशाल प्रदर्शन गरेका हुन् ।
बालबालिका, महिला तथा बृद्धबृद्धासमेत सहभागी भएको किसानहरुको उक्त समूहका अनुसार गत वर्ष सरकारले उनीहरुको ऋण मिनाहा गर्ने घोषणा गरेको भएपनि अहिलेसम्म सरकारले सो घोषणा लागू गरेको छैन ।
महाराष्ट्रको प्रदेश सरकारले भने प्रदर्शन अन्त्य गर्नको लागि वार्ता गर्न आफू तयार रहेको बताएको छ । प्रदेशको आर्थिक स्थितिमा द्रूत गतिमा सुधार आएको भए पनि किसानहरुलाई भने पछाडि पारिएको उनीहरुको आरोप छ ।
उनीहरु नाशिक जिल्लाबाट ६ दिनसम्म हिँडेर मुम्बाईको आजाद मैदानमा पुगेका हुन् ।
आफूले उत्पादन गरेका कृषि सामग्रीहरुको मूल्य अहिलेको भन्दा कम्तीमा १.५ गुणा बढाउनुपर्ने र जंगलमै कृषि गर्ने आदिवासी किसानहरुलाई जमिन उपलब्ध गराउनुपर्ने किसानहरुको प्रमुख माग रहेका छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
‘हामीलाई हाम्रै जमिन चाहिन्छ,’ नाशिककी ६५ वर्षीय किसान साखुबाईले बताइन्, ‘हाम्रो यो प्रमुख माग हो । धेरै हिँडेर मेरा खुट्टाहरुमा चोट लागिसकेको छ, तर हाम्रो माग पूरा नभएसम्म प्रदर्शन जारी रहन्छ ।’







