पत्रकार नरेन्द्र केसी ।

हरेकपटक चुनाव आउँदा म मतदान गर्न गाउँमा जान्छु र मैले मन पराएको दललाई मतदान गर्न स्थानीय मतदातालाई प्रेरित पनि गर्छु तर कहिलेकाही सोच्छु– कतै मैले पनि जनताको मतको शोषण त गरिरहेका छैन ।

शान्ति प्रक्रियायता हरेकपटक सरकार बन्दा रोल्पा-रुकुमबाट मन्त्री नबनेको क्षण नै छैन ।

११ वर्षमा यी दुई जिल्लाबाट ४३ जना मन्त्री भएछन् । बाटो, विद्युत आदीमा केही भौतिक विकास पनि भएकै छ तर जनताको जीवनस्तर उस्ताको उस्तै । कालापार जानेहरु खाडी मुलुकमा छन् । सारा गाउँहरु वृद्धाश्रमजस्ता देखिन्छन् ।

गम्भीर प्रकारको रोग लाग्दा आर्थिक अभावमा उपचार नपाएर मर्नेहरु मरेकै छन् । सामान्य विरामी हुँदा सिटामोल खोज्दा दुर्इ घण्टा पैदल हिड्नुपर्छ तर पनि भेटिदैन ।

सुत्केरीहरु बाटोमै अत्यधिक रक्तश्रापले मरेका छन् । रुख र भीरबाट लडेर मरेका समाचार नआएको कुनै महिना छैन । गाउँका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या उस्तै उस्तै हुन थालेको छ ।

गाउँमा स्थानीय कृषि उत्पादन घटेकै छ र बाहिरबाट चामल आयात गर्ने क्रम बढेकै छ । दूध, दही, घिउ होइन गाउँगाउँमा बियर र ह्विस्कीको खरिदबिक्री बढेको छ । म जस्ता दुई,चार कुरा गर्न जान्नेहरु गाउँमा बस्दैनौं, गाउँमा बस्नेहरु पनि एकले अर्कोलाई टेर्दैनन् ।

मैले आफ्नै गाउँठाउँको उदाहरण दिएँ तर नेपालका प्रायः सबै गाउँहरुको कथा यस्तै छ । चेतना ह्वात्तै बढेको छ तर त्यसको सही परिचालन नहुँदा शास्त्रीय अध्येताहरुले सोचेभन्दा समाज निकै फरक ढंगले अगाडि बढिरहेको छ ।

समाजमा बहुआयामिक अन्तविरविरोधहरु बढेका छन्, मानौं हरेक व्यक्ति, परिवार र समाजभित्रै डरलाग्दो द्वन्द्व भइरहेको छ । यसो हेर्दा सबै चीज पाएजस्तो, थोरै जीवन ब्यवहारमा जाँदा केही पनि नपाएजस्तो छ । कुरा गर्न सबैलाई आउने, काम गर्न कसैलाई नआउने र आउनेले पनि नपाउने । नेपाली ग्रामीण समाजको आजको अन्तविरविरोध हो यो ।

के अहिले बनेको वाम सरकारले यी समस्याप्रति ध्यान दिनसक्छ ?

दिन सके वाम सरकार मात्र होइन, समाज नयाँ ढंगले अगाडि बढ्छ । नसके यो अन्तरविरोधको फाइदा उठाएर अहिले खाली रहेको राजनीतिक र सामाजिक आन्दोलनको नेतृत्व कसले लिन्छ, भन्न सकिने अवस्था छैन ।

रूकुम घर भएका पत्रकार केसी दाङबाट प्रकाशित युगवाेध दैनिकका कार्यकारी सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार