
हुन त मेरो औकात यो होइन ! कहाँको राष्ट्रिय राजनीतिका चतुर खेलाडी प्रचण्ड¸ कहाँको देहात कुनाकाप्चाको गाउँले गोठालो ! राजनीति मेरो खासै लुतोकन्याइको विषय पनि रहेन ! तर पटकपटक उही कुरो दोहोरिंदा र सुन्दा दिक्क लाग्ने भएकोले यी जिज्ञासा घोप्ट्याएको हुँ ।
पटकपटक प्रचण्डले आउनोस् भन्ने बाबुरामले आउँदिन भन्ने । के लुकामारी हो यी दुईको बुझी नसक्नु ! कस्तो माया पिरेम हो यो ! सँगै बस्न पनि नसक्ने¸ डिभोर्स गर्दा बिर्सन पनि नसक्ने । भवितव्य परेन भने एमाले माओवादी एकता हुँदैछ । हजारौँहजार नेता र लाखौं कार्यकर्ता एकठाउँ ‘भेला’ हुँदैछन् । अनि किन पटकपटक उनैको आवश्यकता परिरहन्छ ?!
आधारभूत तहदेखि नै हाम्रो सामाजिक मनोविज्ञान एकपटक बुझौँ । कुनै पद नभए अगाडि ‘आसन ग्रहन’ हुँदैन¸ ‘आसन ग्रहण’ नभए मन्तव्य प्रकट हुँदैन¸ बोल्नै नपाए कसले पत्याउने ? गाउँका उपभोक्ता समिति, टोल समूह, वन, महिला, सहकारी समूह, विद्यालय व्यवस्थापन समितिजस्ता अत्यन्तै साना एकाइमा त नेतृत्वको हानथाप हुने नेपालमा सर्वस्व जीवन नै राजनीतिमा गुजारेका हस्तिहरुलाई राजनीतिको मुख्य पदीय नेतृत्वसम्म पुगेर आफ्नो क्षमता प्रदर्शन गर्ने चाहना कसको हुदैनथ्यो ?!
नेतृत्वका सफलतामध्ये सक्षम उत्तराधिकारी स्थापित गर्नु पनि एक हो ।

लेखक बिनाराम खड्का ।
प्रचण्डको ठूलो छाती हुन्थ्यो त शक्ति र सत्ताका राजकीय अधिकार सोहर्दै चालिसौँ बर्षसम्म ठ्यामकी ठ्याम पार्टीमा एकछत्र एकाधिकार आफैंमा केन्द्रित नगरी आफ्नै जीवनकालमा आफु संरक्षक बसी विधि र प्रक्रियाअनुसार इतिहासमा अमूल्य योगदान पुर्याएका हस्तीहरुलाई पालैपालो क्रमश: एक/एक कार्यकाल वैद्य, बाबुराम, बादल, विप्लव हुँदै सहजरुपमा उत्तराधिकारी स्थापित र नेतृत्व प्रदान गरेको भए अहिलेसम्म नयाँ पुस्ताका प्रभाकरसम्मै उक्त प्रक्रिया पुग्थ्यो होला । कम्युनिष्ट पार्टीमा नेतृत्व स्थापनाको उदाहरणीय र नविन पद्धतिको विकास पनि हुन्थ्यो ।
प्रचण्डको लागि सिंगो माओवादी आन्दोलनको अभिभावकत्व र सर्वमान्य राष्ट्रिय नेतृत्व कतै जाँदैनथ्यो । तर आफ्नै जुँगामा मात्र ताउ लाउने अधिनायकवादी चिन्तनको कारण समयको प्रवाह र विगतको लिगेसी अर्कै दिशामा गइरहेको छ । शक्ति आर्जनको वाध्यता र विवशताको खेलले हिजो आफ्नै इजलासले राँची उपचारको लागि ‘रिफर’ गरिएकाहरुसँगै कुम हल्लाउँदै लगनगाँठो कस्नु परिरहेको छ ।
पटकपटक उही कुरा दोहोर्याएर के काम प्रिय कमरेड प्रचण्डजी ! बुढेसकालमा लामो सोच विचारपछि छुट्टिएका बाबुराम नआए पनि पिर नगर्नोस् । आफ्नै खाइखेलोमा मग्न उहाँको सानो र शान्तिपूर्ण शक्तिले तपाईको महत्वाकांक्षी चर्तुमुखे राजनीति र सत्तामोहलाई २/४ बर्ष खासै दख्खल दिँदैनहोला ।
बरु सक्नुहुन्छ भने पहिले तपाइका सहोदर गुरु वैद्य बा र विभिन्न अपेक्षाका बेरोजगार युवाहरुलाई एकत्रित गर्दै निरन्तर भर्भराउँदो क्रान्तिकारी ज्वाला ओकलिरहेका विगतका प्रिय बान्धव कमरेड विप्लवहरुलाई ‘लफडा’ हुनु अगावै के कसरी हुन्छ तपाइले वर्तमानमा अंगिकार गरिरहेको ‘मुल धार’ मा ल्याउने कामलाई प्राथमिकता दिनोस् ! त्यसमै तपाईको विगत विरासत बाँकी रहला ।
तपाइको सक्षमता पनि । साथै सिंहदरबार पुनरागमनको औचित्य, शान्ति प्रक्रियाको पूर्णता, वामपन्थी गठवन्धन सरकारको लक्ष्य शान्ति, समृद्धि र स्थायित्व पनि !
[मुसिकोट नपा-४ सोलाबाङ्ग रुकुम (पश्चिम)]







