पूर्वराजा ज्ञानेन्द्रले तीनवटा राप्रपा पार्टीकाे एकीकरण भए अाफु त्यसकाे संरक्षक भएर बस्न तयार रहेकाे बताएका छन् । त्यसका लागि दृश्यमा अदृश्यमा रहने ज्ञानेन्द्रले बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गरेपछि ज्ञानेन्द्रले यस्ताे बताएकाे विभिन्न मिडियाहरूले बताउने गरेका छन् ।

पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको राप्रपाका नेताहरूले अाग्रह गरेपछि ज्ञानेन्द्रले सबैभन्दा पहिले राजावादी  पार्टीहरू नै एक हुनु पर्ने बताए ।

झापाकाे चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए ।

तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो ।

‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्‍यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’

शाहको राजनीतिक भेट यो पहिलो भने होइन । उनले यसअघि माघमा करिब १५ दिनजति नेपालगन्जमा रहँदा त्यहाँका पुराना राजावादी नेताहरूसँग पनि छलफल गरेका थिए । त्यतिखेर राप्रपा अध्यक्ष कमल थापालाई काठमाडौंबाट बोलाएर नेपालगन्जमै छलफल गरेका थिए ।

नेपालगन्जबाट सीधै भारत भ्रमणमा निस्किएका उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग पनि भेट गरेका थिए । उनीनिकट स्रोतले आदित्यनाथसँगको भेटमा ‘अब आफूले राजनीतिमा सहभागिता जनाउने या अदृश्य रहेर कुनै पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा सुझाब मागेको’ दाबी गर्छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार