चीनका राष्ट्रपति सी जिनपिङ्गले मंगलवार १३ औँ नेशनल पिपल्स कांग्रेसमा कडा भाषण गरेका छन् । सम्बोधनका क्रममा सी जिनपिङ्गले धेरै आक्रमक भाषण गरेका छन् ।
सीकाे भाषण अमेरिकालार्इ लक्षित गरेर गरिएकाे विश्लेषण गरिएकाे छ ।
उनले भाषणका क्रममा भने, ‘हामी आफ्ना दुश्मनविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न तयार छौँ । हामीले पूरै मजबुतीका विश्वमा आफ्नो स्थान बनाउन पनि दृढ संकल्प गरेका छौँ ।’
सीले आफ्नो भाषणमा ताइवान र हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई पनि कडा चेतावनी दिए । ‘चीनबाट एक इन्च पनि जमिन कसैले खोस्न सक्दैन’, सीले भने । सी ले यसो भनेपछि प्रतिनिधिहरुको गडडाहट तालीले हल गुन्जिएको थियो ।
सीले भने ‘हामीले आफ्नो सम्प्रभुता र क्षेत्रीय एकतामाथि नियन्त्रण लिइरहनु जरुरी छ । हामीले हरहालतमा मातृभूमिको एकता सुनिश्चित गर्नु पहिलो शर्त हो ।’
सन् १९४९ मा चीनमा गृहयुद्ध सकिएपछि ताइवानमा स्वतन्त्र सरकार छ । यस क्रममा ताइवानमा हारेपछि राष्ट्रवादी सरकारले त्यहाँबाट भाग्नुपरेको थियो । चीनले अहिले पनि ताइवानलाई आफ्नो भूभाग नै मान्छ । चीनले आवश्यक परेको अवस्थामा ताइवानलाई आफ्नो नियन्त्रणमा लिन सक्ने बताउँदै आएको छ ।
ताइवान र हङकङलाई लिएर चीनको यो सबैभन्दा आक्रामक अभिव्यक्ति हो । सीले इतिहासले पनि चीन समाजवादमार्फत आफ्नो लक्ष्यमा पुग्ने कुरा पुष्टि भइसकेको बताए ।
टेलीभिजनमा प्रसारित भाषणमा सीले भने, ‘विश्वलाई कफ्युसियसवाद र चिनियाँ पर्खाल जस्ता चिज दिएका छौँ । चीनले बाहिरी आक्रमणको विगतमा बलियोसँग सामना गरेको इतिहास भुल्नु हुँदैन ।’
हालै मात्र अमेरिकाले एक कानुन पास गरेको थियो । जसमा अमेरिकाले ताइवानमा अझै वरिष्ठ अधिकारीलाई पठाउने कुरामा प्राथमिकता दिने उल्लेख गरिएको छ ।
तर अमेरिका र ताइवानबीच कुनै पनि औपचारिक सम्बन्ध भने छैन । चिनयाँ राष्ट्रपतिको यो कडा अभिव्यक्तिलाई अमेरिकाको उक्त निर्णको जवाफको रुपमा हेरिएको छ। ताइवानलाई स्वतन्त्र देशको दर्जा दिने कोशिशमा चीनले कडा विरोध गर्दै आएको छ ।







