
काभ्रेको कोसिपारी बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरेर हत्या गरिएकी काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी नेपालीका छोरा सुमन नेपालीको भिडियोको बयान र कैलालीमा राधा चौधरीलाई बोक्सी भन्दै ६ घण्टासम्म लगातार दिएको यातनाको भिडियोले मन कट्कै काट्यो । मधेसमा ८ वर्षीय बालिकालाई सामुहिक बलात्कार, कंचनपुरमा विवाह गर्न नमानेपछि युवतीको मुख नै जलाएको घटना मेरो मनस्तिस्कमा विचरण गरिरहेका छन् ।
धिक्कार छ मेरो समाज, मानिसको चेतना । मनले आफैलाई प्रश्न गर्छ, थुक्क केही गर्न नसक्ने ?
यो प्रश्नले मलाई भित्रभित्रै पोलिरहेको छ । यसको जवाफ नदिएपछि मलाई सधैंभरी पोल्नेछ । त्यसैले त्यसको उत्तर खोज्न घोत्लिए र जरो नै भेटाएँ । मेरो चेतले यसको सबै दोषी अहिलेको राज्यव्यवस्था नै हो भन्यो । यो व्यवस्थाले रुढीवाद, अन्धविशवास र अपराधको संरक्षण गरेको छ । संविधान र नेताको भाषणमा गणतन्त्रमा आएपनि जनताको जीवनमा पुरानै युग छ । गतल कुराको पक्षपोषण गर्ने राज्य व्यस्थाले समाजलाई दिने भनेकै यही हो । त्यसैका उत्पादन हुन् समाचारमा अाइरहेका घटनाहरु । राज्य संचालक नै रुढीवादबाट ग्रस्त छन्, उनीहरु लामा कपाल पालेका र पहेँलोबस्त्र लगाएका व्यक्तिहरुको ….ढोग्दै आर्शिवाद लिन्छन् । चुनावमा जनताले भोट हालेर जिताउने तर ढुंगा, भैसी, पहेँलो बस्त्रधारीको पुजा गर्ने चलन छ । अन्धविश्वास नै अपराधको मुख्य स्रोत हो । यसको कुनै रुप हुँदैन ।
अन्धविश्वासलाई संसदीय व्यवस्थाले संस्थागत गरेको छ । यो पनि पुस्तान्त्रण भइरहेको छ । यसको अन्त्य नगरी समाज शुद्ध हुँदैन । त्यसको लागि राज्य संचालकहरुको मनैबाट रुढीवाद, अन्धविश्वास हट्नुपर्छ र वैज्ञानिक र भौतिक कुरामा विश्वास हुनुपर्छ । त्यही अनुसारको राज्यका संयन्त्रमा चेतनाको विकास गराउनुपर्छ । पहिला राज्य संचालक र राज्यका उपरी संरचनालाई वैज्ञानिक विचारबाट लैस गराउनुपर्छ । त्यसपछि आम नागरिकलाई के ठिक हो के बेठिक हो भन्ने कुरा सिकाउनु पर्छ । यहाँ त कानुन कार्यान्वयन गराउनेहरु नै बोक्सी, दाईजो नल्याएको भन्दै श्रीमती जिउँदै जलाउनेदेखि बलात्कारी र चोरलाई काखी च्यापेर बसेका छन् । रमिते भएका छन् । यसको उदाहरण दिनै पर्दैन ।
त्यसैगरी संसदीय व्यवस्थाले दलालीकरण, भ्रष्टीकरणलाई संस्थागत गरेको छ । यो पनि पुस्तान्त्रण हुँदै आएको छ । नागरिक सुन्दर जीवनको लागि संसदीय व्यवस्थामा फेल भइसकेको छ । व्यवस्था नै दलाली र भ्रष्टीकरण छ, त्यसका संचालकहरु दलाल-भ्रष्ट, अन्धविश्वासी र रुढीवादी छन् । अनि कसरी समाज उभो लाग्छ ? सम्भव छैन ।
मेरो चेतले देखेको यही हो । यसविरुद्ध हाइड्रोजन बम बोक्ने निर्णय गरेको छु । लक्ष्मी नेपाली र सुन्तली तामाङ, राधा चौधरीहरुका घाउमा पट्टी लगाउन विचारको हाइड्रोजन बम आवश्यक छ । जसले रुढीवादी, अन्धविश्वासी, दलाल, भ्रष्टाचारी, बलात्कारीलगायत गलत सोँच र चिन्तनलाई ध्वस्त पार्नेछ । त्यसपछि आधारभूत आवश्यकता पूरा भएका आदर्श नेता र समृद्ध देश र जनता हुनेछन् ।
नेपाल एउटा सुन्दर संचार हुनेछ । तपाईँ पनि अाउनुहोस् यस अभियानमा सहभागी होऔं ।







