नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं कोशी ब्युरो इञ्चार्ज किरण राईलगायत तीन जिल्लाका इन्चार्जलाई प्रहरीले बिनाकारण गिरफ्तार भन्दै एक दिने कोशी अञ्चल बन्दको घोषणा गरेको छ ।
राईसहित सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई प्रशासनले ७ दिने म्याद थपेपछि नेकपा पूर्वी कमाण्डले चैत्र ११ गते कोशी अञ्चल बन्दको आयोजना गरेको हो ।
उक्त पार्टीका पूर्वी कमाण्ड इञ्चार्ज विरहीले आफ्ना पार्टीका नेता–कार्यकर्तालाई बिना शर्त रिहा गर्नुको साटो म्याद थपेकाले बाध्य भई बन्द आयोजना गर्नुपरेको जनाएका छन् ।
आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको विरुद्धमा चैत्र ६ गते चक्काजामको आयोजना गरेको थियो । चक्काजामको क्रममा सुनसरीबाट रोशनलाई प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।
सोमबार साँझ धनकुटाको हिलेबाट राईसँगै धनकुटा इञ्चार्ज माधव गौतम ‘आकाश’ सेक्रेटरी नवराज भटराई, संखुवासभा इञ्चार्ज समुल सेक्रेटरी दिव्य बराल, तेह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बु, कोशीब्यूरो सदस्य सागर लिम्बुलाई पनि पक्राउ गरिएको थियो ।







