हरेक दिन झण्डै दुई हजारको हाराहारीमा नेपाली युवा कामका लागि विदेश जान्छन् । नेताहरुको भाषण हरेक दिन सुनिन्छ, ‘देशमै रोजगारीको अवसर सृजना गर्छौँ, विदेश गएका नेपाली युवालाई स्वदेश फर्काउँछौँ ।’

केपी ओली नेतृत्वको सरकार बनेपछि धेरैले विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरेका छन् । तर अहिलेसम्म कुनै योजना सार्वजनिक भएको छैन, जसले कामका लागि विदेश जान नपरोस् ।
विदेश जान लागेका युवालाई किन तपाई विदेश जानुहुन्छ भनेर सोध्यो भने जवाफ आउँछ, ‘देश चलाउनेलाई सोध्नुस् ।’ पक्कै पनि रहरले नेपाली युवा विदेश गएका होइनन् ।
विहिबार ग्लोबल आइएमइ बैँकको सबैजसो शाखामा नेपाली युवायुवतीको लाइन थियो । दक्षिण कोरिया जानका लागि ।
काम र दाम दुवैको कारण युवाहरुको आकर्षक गन्तव्य मुलुकको रुपमा दक्षिण कोरिया स्थापित भएको छ । नेपाली युवाहरुको रोजाई दक्षिण कोरिया र दक्षिण कोरियाको रोजाईमा नेपाली युवा । नेपालमा काम पाइहाले पनि कामअनुसारको पारिश्रमिक नपाउने भएकाले विदेश जानेहरुको संख्या बढ्दै गएको छ ।
दक्षिण कोरिया जानका लागि अहिले नवौँ चरणको कोरियन भाषा परीक्षाको प्रक्रिया सुरु भएको छ । भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले बिहिबारदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ ।
नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य बन्दै आइरहेको र करिब एक लाख रुपैयाँ खर्च गरेर मासिक डेढ लाखसम्म कमाइ हुने भएपछि कोरिया आकर्षण बनेको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ ।
भिडियाे –
https://youtu.be/HKOuxKWePww







