आगामी पाँच वर्षपछि काठमाडौं चक्रपथको परिक्रमा मोनोरेलबाट गर्न पाइने भएको छ।

लगानी बोर्डले अगाडि बढाएको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनोरेलबाटै साढे २८ किमिको चक्रपथ परिक्रमा गर्न सकिने गरी प्रक्रिया अगाडि बढाएको छ।

‘मलेसियन कम्पनीसँगको सहकार्यमा काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने भएको छ। डीपीआरका लागि लगानी बोर्डले दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्ट काठमाडौं मोनोरेललाई पठाइसकेको छ।

यो कम्पनीसँग एमओयू गर्ने अन्तिम चरणको तयारीमा पुगिसकेका छौं’, ट्रान्सपोर्ट इन्जिनियर आशीष गजुरेलले भने।

काठमाडौं मोनोरेल प्रालिका डीएन थापा, तारादेवी ढकालसहितको टोलीले डीपीआर बनाउन प्रक्रिया अगाडि बढाइरहेको बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार काठमाडौं उपत्यकाभित्रको हाल सञ्चालनमा रहेको कलंकीदेखि कोटेश्वर चाबहिल, महारागन्ज हुँदै पुनः कलंकीसम्म पुग्ने सडकमै यस्तो मोनोरेल निर्माण हुने भएको छ। यो सडकको बीचबाट रेलको आवश्यक पूर्वाधार बनाइने र रेल कुदाइने भएकाले बोर्डले यसअघि नै सरकारलाई खानेपानीको पाइप निर्माण गर्दा ध्यान दिन आग्रह गरिसकेको उल्लेख छ।

चक्रपथको बीच सडकमै रेलका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले उक्त रुटमा कुनै अवरोध हुने साधन नराख्न आग्रह गरिसकिएको पनि बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदनबाट साढे २८ किमि मोनोरेल बनाउन करिब ८० अर्ब रुपैयाँ खर्च हुनेछ। यो रकम जुटाउन मलेसियन कम्पनी तयार रहेको गजुरेलले जानकारी दिए। उनका अनुसार काठमाडौं मोनोरेल कम्पनीसँग एमओयू गर्ने अन्तिम तयारीमा बोर्ड छ।

सम्झौता तत्कालै हुन सक्ने र त्यसको एक वर्षमा डीपीआर बनाउनुपर्ने सर्त राखिएको छ। डीपीआर बनेपछि तीनदेखि चार वर्षभित्रमै रेलमार्ग बनाइसक्नुपर्ने र रेल दौडाउनुपर्ने सर्त पनि तोकिएको छ।

यसका कारण आगामी पाँच वर्षमा काठमाडौंको चक्रपथमा प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने गरी तीनवटा डिम्बासहितको रेल दौडनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार