राेहित ढकाल / जनकपुर

“किसान आन्दोलनलाई नयाँ उचाईमा उठाऔं, दलाल र भूमाफियाहरूको सम्पत्ति राष्ट्रियकरण गरौं ।“ भन्ने मूल नाराका साथ सम्पन्न नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे दाेस्राे राष्ट्रिय भेला सिराहामा शुरू भएकाे छ ।
संगठनकी अध्यक्ष सविता सिंहकाे अध्यक्षतामा शुरू भएकाे भेलाकाे उद्घाटन नेकपाका केन्द्रीय सदस्य सन्देश पाैडेलले गरेका छन् ।
भेलालार्इ संवाेधन गर्दै पाैडेलले सामन्त र भूमाफियाहरुको जमिन खोसेर श्रमजीवि किसानहरूलाई वितरण गर्नुपर्ने बताए । पौडेलले कम्युनिस्ट आन्दोलनमा किसानहरुले खेलेको गौरवमय ईतिहासको स्मरण गराउदै पूर्वी तराईले नेपालकै विशाल किसान आन्दोलनको नेतृत्व गरेको बताए ।
तरार्इबाट रामवृक्ष यादव, सुर्यनारायण यादव, जय गोविन्द शाह, ऋषिराज देवकोटा जस्ता होनहार योद्धाहरूले उठाएका मुद्दाहरू अझै पुरा नभएको बताउँदै उनीहरुको सपना पूरा गर्न सबै श्रमजीवि र किसानहरुलाई नयाँ प्रविधि र नयाँ विचारका साथ एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आग्रहसमेत गरे ।
भेलालार्इ नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, सिराहा जिल्ला इन्चार्ज अनुकुल, सेक्रेटरी साहस, सप्तरी जिल्ला इन्चार्ज आकाश, संगठनका उपाध्यक्ष मिनप्रसाद पौडेल, ब्युरो सदस्य तिर्थ, योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित ढकाल, सहिद परिवारबाट समुद्रादेवी यादवले शुभकामना मन्तव्य राखेका थिए ।
भेलामा देशैभरिबाट हजारौं किसान प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संगठनका महासचिव जयरूप वडुवालले गरेका थिए ।







