नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारले मुलुकमा अधिनायकवाद ल्याउने आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य डा.कोइरालाले अहिलेको कमजोर काँग्रेस अधिनायकवादका विरुद्ध लड्न नसक्ने पनि बताएका छन् ।
‘कम्युनिष्टहरुको प्रचण्ड बहुमतको नेतृत्व गरेका ओली सरकारका प्रारम्भिक क्रियाकलापहरुले नै मुलुकमा अधिनायकवाद निम्त्याउँने संकेत देखिइसकेको छ । यो सरकार राज्यसत्ता कब्जाको गर्ने तर्फ अगाडि बढ्दैछ । न्यायपरिषदको सचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्नु अधिनायकबादको प्रवेशको पहिलो खुड्किलो हो ।’ कोइरालाले भनेका छन्, ‘ओली सरकारले अब बिस्तारै थाहा नपाउँने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ । त्यसपछि सुरक्षा निकाय कब्जा गर्छ । काँग्रेसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन ।’

बैठकमा राखेको मन्तब्यको संम्पादित अंश
१. प्रचण्ड प्रधानमन्त्री हुने बितिकै मैले सभापतिज्यूलाई भनेको थिएँ–पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिष्टले कब्जा गर्छ । हो आज हामी त्यहीँ बिन्दुमा आईपुगेका छौं ।
२. पार्टी सभापतिज्यू सायद स्थानीय निर्वाचनपछि चितवन जानुभएको छैन होला । यदि गएको भएपनि कार्यकर्तालाई भेट्नुभएको छैन होला । महामन्त्रीजी धेरै पटक जानुभयो तर कार्याकर्तासँग राम्ररी संवाद भएको छैन होला । चितवनका कार्याकर्ताले हामीलाई सोध्न थालेका छन् –एकपटक हसिँया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउँने निर्वाचनमा हामीले के मा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकतालाई के जवाफ दिने ?
३. जुन पार्टीभित्र आजसम्म पनि कम्युनिष्टहरुसँगको सहकार्यको परिणामले देश र जनतालाई हित गर्यो कि गरेन भन्ने बहस छ । त्यहीँ पार्टीको केन्द्रीय सभापतिले माओवादीको आमसभामा गएर हसिँया हथौडामा भोट माग्दा अन्य ठाउँमा माओवादीसँगै प्रतिस्पर्धा गरिरहेका काग्रेंसका उम्मेद्वारहरुको मनोबल कहाँ पुग्यो होला ?
४. नेपाली काग्रेंस, जुन पार्टीले सबै क्रान्तिहरुको नेतृत्व गर्यो, जसले सबै प्रकारका निरकुंशतालाई परास्त गर्यो, गणतन्त्र ल्यायो, संविधानसभाबाट संविधान जारी गर्यो, २० वर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्यो तर पनि आज नेपाली काँग्रेस ईतिहाँसमै कमजोर भएको छ यसको कारण खोजिन जरुरी छ ।
५. कम्युनिष्टहरुको प्रचण्ड बहुमतको नेतृत्व गरेका ओली सरकारका प्रारम्भिक क्रियाकलापहरुले नै मुलुकमा अधिनायकवाद निम्त्याउँने संकेत देखिइसकेको छ । यो सरकार राज्यसत्ता कब्जाको गर्ने तर्फ अगाडि बढ्दैछ । न्यायपरिषदको सचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्नु अधिनायकबादको प्रवेशको पहिलो खुड्किलो हो । ओली सरकारले अब बिस्तारै थाहा नपाउँने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ । त्यसपछि सुरक्षा निकाय कब्जा गर्छ । काँगेसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो काँग्रेसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन ।
६. केन्द्र र सातवटै प्रदेशमा काँग्रेसको न्युन उपस्थिति छ । अझ भन्नुपर्दा सबै ठाउँमा हामीले प्रतिपक्षको हैसियत पनि गुमाएका छौं । यस्तो अवस्थामा समानुपातिक र पपुलर भोटको आधारमा हामी हारेका छैनौं भन्नु लज्जास्पद हो । नेतृत्वले हार स्विकार गर्न सक्नुपर्छ । तब मात्र सुधार सम्भव छ ।
७. सभापतिजीको व्यक्तिवादी चरित्र, सत्ता र शक्तिलाइ मात्रै सर्वेसर्वा मान्ने प्रवृति छ, जसका कारण उहाँ संगठनप्रति त्यति संवेदनशील देखिनुभएको छैन ।
८. व्यक्ति हारेको हो, पार्टी हारेको होइन भनेर सभापतिजीले जुन अभिव्यक्ति दिनुभयो त्यो अत्यन्तै आपतिजनक छ ।







