‘मलाई बाहिर बिरोधिहरुले के भन्छन् भन्ने राम्रोसँग थाहा छ, प्रचण्ड अस्थिर छ, उसको बोलीको ठेगान छैन भन्ने हल्ला चलाएका छन्, अस्थिरता कमजोरी होइन, डाइनामिक नेताको गुण हो।’

आफूमाथि बारम्बार लाग्ने अस्थिर नेताको आरोपलाई खण्डन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेलाबेला आन्तरिक प्रशिक्षणहरुमा यसो भनिरहन्छन्।

‘म अस्थिर भइन भने त विरोधिहरुले प्रचण्डले अब के गर्छ भन्ने थाहा पाइहाल्छन्, त्यसपछि षड्यन्त्र गर्न थाल्छन्, उनीहरुले जे सोच्छन्, म त्यस्तो गर्दिन। यहि कारण मलाई प्रचण्ड अस्थिर छ भनिरहन्छन्’, राष्ट्रिय सभागृहको एक कार्यक्रममा प्रचण्डले भनेका थिए।

प्रचण्ड आफ्नै बोलीका कारण बारम्बार बिवादमा तानिन्छन्। उनी आफुलाई आवेग र तरंगसहितको जिन्दगी मनपर्ने बताउँछन्। बेलाबेला आवेगी र तरंगी भाषण गर्छन्, मन्तव्य दिन्छन् र सार्वजनिक आलोचनाको शिकार पनि बन्छन्।

पछिल्लो पटक अखिल (क्रान्तिकारी) को गोप्य प्रशिक्षणमा प्रचण्डले दिएको मन्तव्य विवादास्पद रह्यो। बराबरीको आधारमा मात्र पार्टी एकता हुन सक्ने प्रचण्डको मन्तव्यले माओवादी केन्द्रसँग एकताको तयारी गरिरहेको एमालेलाई पनि झस्काइदिएको छ। मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई बालुवाटार बोलाएर ‘पार्टी एकताबाट पछि हट्न खोजेको हो?’ भन्ने प्रश्न गरेका छन्।

सोमबार दाहालले एकतापछिको एकीकृत पार्टीमा दुवै पक्षबाट ५०–५० प्रतिशतको सहभागिता हुने भए एकता सम्भव हुने, नत्र एकता नहुने बताएका थिए।

गोप्य प्रशिक्षणको मन्तव्य कसरी सार्वजनिक भयो?
११–१२ चैत्रमा भक्तपुरस्थित सिटिइभिटीको टिआइटिआई हलमा क्रान्तिकारीले ‘आजको समाजवाद र समाजवादी शिक्षा’ बारे प्रशिक्षण कार्यक्रम राखेको थियो। मुख्य प्रशिक्षकका रुपमा बोलाइएका थिए, प्रचण्ड। प्रशिक्षणको पहिलो दिन उनी सहभागी हुन पाएनन्, दोश्रो दिनको कार्यक्रममा सहभागी भए। पहिलो दिन नारायणकाजी श्रेष्ठले क्रान्तिकारीका नेताहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रम गोप्य थियो। त्यसैले, सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन। क्रान्तिकारीका केन्द्रीय पदाधिकारी, विभिन्न आयोगका संयोजक, सचिव तथा हरेक जिल्लाबाट एकजनाका दरले विद्यार्थी नेताहरु कार्यक्रममा उपस्थित थिए। संगठनकी उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख पञ्चा सिंहले कार्यक्रमको शुरुमै हलभित्र पालना गर्नुपर्ने नियम सुनाइन्। मोबाइल ‘स्वीचअफ’ गर्नुपर्ने, प्रशिक्षणको फेसबुक लाइभ गर्न नपाइने, नेताका मन्तव्य रेकर्ड गर्न नपाइने आचारसंहिता बनाइएको थियो। प्रशिक्षणलाई गोप्य राख्ने हरसम्भव कोशिस गरिएको थियो। तैपनि आचारसंहिताको नियमले प्रचण्डको मन्तव्यलाई गोप्य राख्न सकेन।

रौसे स्वभावका प्रचण्ड गोप्य प्रशिक्षणमा मन खोलेर बोले। १ घण्टा २० मिनेट बोलेका उनले पार्टी एकता, प्रचण्डपथदेखि पूर्व सहकर्मी मोहन वैद्य र बाबुराम भट्टराई समेतका विषयमा टिप्पणी गरेका थिए। ‘पार्टी एकता बराबरीका आधारमा हुने’ मात्र भनेनन्, त्यसमा एकजना पनि दायाँबायाँ नहुने दावी गर्दै विद्यार्थी नेताहरुलाई आश्वस्त बनाउन खोजे।

एक दैनिकमा प्रकासित समाचार उधृत गर्दै उनले पार्टी एकतामा बराबरी हैसियतको प्रसंग झिकेका थिए। ‘नयाँ पत्रिकाको समाचारले तपाईँहरुको बुद्धि भुटेको होला। ढुक्क हुनुस्, पार्टी एकता बराबरीका आधारमा मात्र हुन्छ’ उनले भने। सो दैनिकले एकीकृत पार्टीको केन्द्रीय समिति ६०/४० को अनुपातमा बन्ने लेखेको थियो। प्रचण्डले त्यसलाई खण्डन गर्ने क्रममा एकजनापनि घटिबढि नहुने जवाफ दिएका थिए।

‘एकतापछि दुवै पार्टी रहँदैनन् तर एक अर्कामा सिद्धिने गरी चाहिँ एकता हुँदैन, संख्यामा एकजनापनि घटिबढी हुँदैन’, उनले भनेका थिए, ‘०६४ मा हाम्रो पार्टी ठूलो थियो, ०७० मा एमाले ठूलो भयो। अहिले कसको भोट कति भन्ने पनि थाहा भएन, मिलेर चुनाव लड्यौं, भोट कसको तलमाथि भन्ने कुनै हिसाब छैन।’

उनले बाबुरामलाई अवसरवादी र मोहन वैद्यलाई संकिर्णतावादी भनेका थिए। कार्यक्रम गोप्य रहेको ठानेर प्रचण्डले धक फुकाएर बोले। तर, कार्यक्रममा एकजना पत्रकारसमेत उपस्थित थिए। केहि समय अखिल (क्रान्तिकारी) को विद्यार्थी राजनीतिमा समेत संलग्न रहेका उनले आफू कार्यरत सञ्चारमाध्यमको अनलाइनमा प्रचण्डको प्रशिक्षणको समाचार लेखे। बिस्तारै अरु सञ्चारमाध्यमको पनि ध्यान तानियो। आफ्नो पार्टीका विद्यार्थीहरुबीच प्रचण्डले राखेको मन्तव्य केही समयमै ‘भाइरल’ भयो। क्रान्तिकारीकै नेताहरुले पनि प्रचण्डको मन्तव्य पुष्टि गर्दै सञ्चारमाध्यममा बोले। यसरी गोप्य भनिएको प्रशिक्षणमा उनले बोलेका कुरा सञ्चारमाध्यममा छताछुल्ल भए।

त्यही कार्यक्रममा उनले प्रचण्डपथ खारेज नभई स्थगित मात्र गरिएको भन्दै विद्यार्थी नेताहरुलाई ‘प्रचण्डपथ’ का विषयमा बहस गर्नसमेत आग्रह गरे। ‘तपाईंहरु जत्तिका साथीहरुले यो कुरा बुझ्नुपर्छ, प्रचण्डपथ खारेज गरिएको होइन, स्थगितमात्र गरिएको हो’, उनले भनेका थिए,‘प्रचण्डपथकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सम्भव भएको हो, तपाईंहरुले यसका विषयमा बहस गर्नुस्।’

विगतको शृङ्खला
प्रचण्डका मन्तव्य यसअघि पनि पटकपटक विवादित बनेका छन्। ०६४ पुसमा प्रचण्डले माओवादी जनसेनाको चितवन शक्तिखोरस्थित क्याम्पमा बोलेको गोप्य भिडियो सार्वजनिक भयो। ‘जनमुक्ति सेना’ का कमाण्डरलाई सम्बोधन गरेको उक्त टेपमा प्रचण्डले माओवादी लडाकुको संख्या ७–८ हजार रहेपनि ३५ हजारको संख्या देखाएको खुलासा गरेका थिए। त्यसमा उनले अरु थुप्रै विषय बोलेका थिए, जो अधिकांस विवादित रहे। उक्त टेप प्रकरणले प्रचण्डलाई विवादित र नेपाली राजनीतिलाई लामो समयसम्म तरंगित पारिरह्यो। त्यही टेपलाई दृष्टान्त बनाउँदै उनको विश्वसनियता र इमानदारितामा अहिलेपनि प्रश्न गरिन्छ।

०६७ फागुनमा ललितपुरस्थित खन्ना गार्मेन्टमा प्रचण्डले गरेको भाषणपनि विवादित रह्यो। उनले पार्टीका सहकर्मी डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको बताएका थिए। खन्ना गार्मेन्टको प्रचण्डको भाषणले आघात पुगेपछि डा बाबुरामले त्यसबेला प्रतिक्रिया दिएका थिए, ‘राम्रो काम गर्नु अपराध हो भने भीमसेन थापाझैं मारिन तयार छु।’ खन्ना गार्मेन्टको भाषणपछि प्रचण्ड पक्षीय कार्यकर्ताले भट्टराईलाई भारतपक्षीय भन्दै उछितो काढ्न थालेका थिए।

आवेशमा आएर मनमा लागेको बोलिहाल्ने प्रचण्डको स्वभावले स्वयं उनलाई नै पटकपटक क्षति पुर्‍याएको छ। अविश्वसनीय कुरा गर्ने र कुरापनि फेरिरहने नेताका रुपमा उनको पटकपटक चित्रण हुन्छ। कार्यकर्ता आश्वस्त पार्न बढाइचढाइ बोल्ने स्वभावका प्रचण्डको यसपटकको भनाइले वाम गठबन्धनभित्रै अविश्वास पैदा भइसकेको छ। त्यसैको प्रतिक्रियास्वरुप ओलीले मंगलबार उनलाई बालुवाटार बोलाएर मन्तव्यका विषयमा जानकारी मागे।

माओवादी केन्द्रका एक नेता प्रचण्डले नियतवश नभइ प्रसंगवश बराबरीको कुरा झिकेको बताउँछन्। ‘अध्यक्ष कमरेड पार्टी एकताको विपक्षमा हुनुहुन्न, विद्यार्थीको गोप्य प्रशिक्षणमा पनि उहाँले बाहिर चलेका अनेक हल्लालाई खण्डन गर्ने क्रममा त्यसो भन्नुभएको हुनसक्छ। तर उहाँले यसलाई नियोजित रुपमा भन्नुभएको होइन’, नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, ‘यसलाई त्यत्रो ठूलो ‘इश्यु’ बनाउनु आवश्यक छैन।’

मनाेज खतिवडाले नेपालखबरका लागि तयार पारेकाे रिपाेर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार