
नेपाल कम्युनिस्ट पार्टीकाे जनपरिषद् नुवाकोटका प्रमुखकाे गिरफ्तारप्रति ताम्सालिङ स्वयत्त जनपरिषद्का प्रमुख मणिक लामाले अापत्ति जनाएका छन् ।
नुवाकाेट जनपरिषद्का प्रमुख सन्तोष सिलवाल ‘असोक’ लाई प्रहरीले गिरफ्तारको विरोध गर्दै लामाले अाक्रोश व्यक्त गरेका हुन् ।
ताम्सालिङ स्वयत्त प्रदेशको कार्यक्रमबारे जानकारी गराउन अायोजित पत्रकार सम्मेलनबाटै सिलवाललाई प्रहरीले बुधबार नुवाकोटबाटै गिरफ्तार गरेको थियो ।
नुवाकोट प्रहरीले सिलवाललाई विना कारण गिरफ्तार गरेको भन्दै लामाले तत्काल रिहा गर्न माग समेत गरेका छन् ।
‘संविधानमा राजनीतिक अास्था राख्न पाउने कुराको ग्यारेण्टी गरेको तर अाफैले लेखेको संविधानलाई धोती लगाउँदै ओलीले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिइरहेका छन्, यसमा हाम्रो अापत्ति छ’ लामाले भने ।
सरकारले शान्तिपूर्ण कार्यक्रममाथि नै हस्तक्षेप गरेर निर्दोष व्यक्तिहरुलाई गिरफ्तार जारी राखे अाफूहरु चुप लागेर नबस्ने चेतावनी समेत लामाले दिएका छन् ।
प्रमुख लामाले नुवाकोटमा हुँदै अाएको बेचिबेटी बिचबिखनविरुद्ध अाफूहरुले कार्यक्रम घोषणा गर्न लाग्दा प्रहरीले सिलवाललाई गिरफ्तार गरेको मानव तस्करहरुलाई सहयोग पुर्याएको अारोप समेत लगाए ।
उनले अाफूहरुले नुवाकोटमा हुँदै अाएको मानव तस्करीलाई सरकारले उल्टाे संरक्षण गरे अाफूहरु बाध्य भएर जनकारवाही गर्ने बताए ।







