झापाकाे  मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पटक पटक मदिरा सेवन गरेर कार्यालयमा जान थालेपछि स्थानीयकाे सहयाेगमा प्रहरीले पक्राउ गरेकाे छ ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष न्यौपानेलाई पटक पटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगेको थियो ।

प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो ।

बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्की समेत काम विशेषले वडा कार्यालय आएकी थिइन् । उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए ।

वडाध्यक्ष न्यौपानेले वडा कार्यालयका कर्मचारी र सेवाग्राहीहरुलाई समेत मातेको सुरमा दुर्व्यवहार गरेर लज्जित तुल्याउँदै आएका छन् ।

बुधवार स्थानीयको गुनासोपछि वडा कार्यालय पुग्दा वडाध्यक्ष न्यौपाने कार्यालयको कुर्सीमा बेसुर अवस्थामा घुरिरहेका थिए ।

नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार