रोल्पामा जारी ‘सुनछहरी नृत्य तथा गायन तारा –सिजन १’ का विषयमा सुनछहरी कला केन्द्र रोल्पा र कार्यक्रम सम्बद्ध व्यक्तित्वहरुको बैठक शनिबार लिबाङमा सम्पन्न भएको छ ।

‘अग्रजको सम्मान, नयाँलाई प्रोत्साहन, मौलिक कला, संस्कृतिको संरक्षण हाम्रो अभियान !’ भन्ने नाराका साथ सञ्चालित उक्त प्रतियोगितालाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना तयार गर्नुका साथै विभिन्न आठ उपसमिति समेत गठन गरेको छ ।
गठित उपसमितिहरुमा राजन बुढाको संयोजकत्वमा कलाकार व्यवस्थापन उपसमिति, दिपिन थापामगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, भीम वलीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, हरि पुनको संयोजकत्वमा अनलाइन ग्रुप उपसमिति, टेकेन्द्र सेनको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा प्राविधिक उपसमिति, रमिता गुरुङको संयोजकत्वमा अतिथि संस्कार तथा व्यवस्थापन उपसमिति, मिलन रोकाको संयोजकत्वमा प्रमाण–पत्र तथा पुरस्कार व्यवस्थापन उपसमिति र लोक केसीको संयोजकत्वमा आन्तरिक व्यवस्थापन उपसमिति रहेका छन् ।
यस्तै वैठकले बाँकी आठवटा विभिन्न चरणहरुका बारेमा ठोस कार्ययोजना तयार पारेको छ ।जसअनुसार तेस्रो चरणको प्रतिष्पर्धा लिबाङको टुडिखेलमा आउँदो चैत २० र २१ गते गरिनेछ । तेस्रो प्रतिष्पर्धाका लागि नृत्य तथा गायनमा ४०-४० जना प्रतिष्पर्धी रहेकोमा दुवै विधामा २०/२० जना छानिनेछन् ।
चौथो चरणको प्रतिष्पर्धामा रहने २० जनाबाट दुवै विधामा १२/१२ जना छनौट चैत २७ गते गरिनेछ । त्यस्तै पाँचौ चरणको प्रतिष्पर्धामा रहने १२ जनालाई बैशाख ३ गते प्रतिष्पर्धा गराईने र त्यसबाट टप १० निकालिनेछ । बैशाख १२ गते टप टेनका प्रतिष्पर्धीहरुबाट छनौट गरी टप ८ निकालिनेछ । र टप ८ बाट प्रतिष्पर्धाबाट बैशाख २२ गते टप ६ निकालिसकेपछि अन्तिम चरणको प्रतिष्पर्धा गराईने प्रचारप्रसार उपसमिति संयोजक भीम वलीले जानकारी दिनुभयो ।
प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा भने जेठ २५ र २६ गते लिबाङमा आयोजना गरिने र जसबाट दुवै विधाको तारा घोषणा गर्ने कार्यक्रम रहेको सुनछहरी कला केन्द्र रोल्पाका अध्यक्ष दिपिन थापामगरले जानकारी दिनुभयो । ६ जनाको छनौटपछि थबाङ लगायत जिल्लाका विभिन्न ठाउँमा ‘कन्सर्ट’को आयोजना समेत गरिने थापामगरले बताउनुभयो । प्रतिष्पर्धामा एसएमएस र टिकट भोटिङ समेत हुने आयोजकले जनाएको छ ।
बैठकले गायन तथा नृत्य विधाको निर्णायकको समेत ठोस कार्यविभाजन गरेको छ । जसअनुसार लोक केसीको संयोजकत्वमा नवीन लोचनमगर र कर्ण खड्का अनुरागी रहने गरी गायनतर्फको निर्णायक र रक्ष क्षेत्रीको संयोजकत्वमा पृथ्वी डाँगी र दिपिन थापामगर रहने गरी नृत्यतर्फको निर्णायक रहने बताइएको छ ।
समग्र कार्यक्रमको ‘होस्ट’का रुपमा गायक एवम् सञ्चारकर्मी हरि पुन रहने आयोजकले जनाएको छ ।







