
नेपाल कम्युनिस्ट पार्टीले स्थानीय सत्ता र जनअदालतहरू खडा गरिरहेकाे बेला माेहन वैद्य नेतृत्वकाे क्रान्तिकारी माअाेवादीले पनि अब जनसरकार खडा गर्ने भएकाे छ ।
क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरणले पहिलाेपाेष्ट अनलाइनसँगकाे कुराकानीमा यस्ताे बताएका हुन् ।
वैद्यले विप्लव नेतृत्वकाे नेकपाले कसरी जनसत्ता र जनअदालत खडा गरिरहेका छन्, त्यसबारे बुझेर सहकार्य गरेर जाने र त्यसका लागि पार्टीमा छलफल चलिरहेकाे जानकारी दिए ।
एमाले र माअाेवादी केन्द्रकाे गठबन्धनलार्इ वैद्यले दक्षिणपन्थीहरूकाे एकता भनेका छन् ।
वैद्यसँगकाे कुराकानीकाे सानाे अंश –
पछिल्लो समय विप्लवले जनसरकार व्युताएर सरकारमा रहेका मुख्य नेतृत्वलार्इ वारेन्ट जारी गरेको छ। तपार्इँहरूले पनि जनसरकार र जनअदालत व्यूताएर विप्लवले जारी गरेको वारेन्टमा समर्थन दिनु भएको हो ?
विप्लवजीहरूले जनसरकार, जनआदलत कहाँ कहाँ के-के भन्नु भएको छ। त्यो हामीलार्इ आधिकारिक रूपमा थाहा छैन। उहाँको कुरा पनि के हो हामी बुझ्छौँ। जहाँसम्म जनसरकार व्युँझाउने कुरा गर्नुभएको छ, हामीले व्युँझाउनेभन्दा पनि जनसरकार स्थापना गर्ने हो। यो प्रकृया त हामीले थाल्नु पर्ने नै छ। विप्लव जीहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालार्इ अगाडि बढाउँछौँ। हामीले कसले के गरिरहेको छ भन्ने कुरामा पार्टीभित्र छलफल गर्छौँ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालार्इ कसरी हेरिरहनु भएको छ ?
यसलार्इ हामीले वाम एकता मान्दैनौँ। न त यो वामपन्थीहरूबीचको एकता हो, न त कम्युनिष्टहरूबीचको एकता हो। यो दक्षिणपन्थीहरूको एकता हो। प्रतिक्रियावादी राज्यसत्तालार्इ सुदृढ बनाउने संसदवादी शक्तिहरूको एकताका रूपमा हामीले यसलार्इ लिएका छौँ।







