रोहित ढकाल/जनकपुर :
नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको हरिहरपुरगढीमा समाज भवन निर्माण आरम्भ गरेको छ ।

पार्टीको जनकपुर ब्युरोले आइतबार आयोजना गरेको ‘समाज भवन निर्माण’ शिलान्यास कार्यक्रममा उक्त जानकारी दिइएको हो । भवन निर्माण स्थलसमेत रहेको सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका ७ स्थित सिरुदमारमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल राईको अध्यक्षता तथा केन्द्रीय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, ब्युरो सदस्य मिसन खत्री, कोसी ब्युरो सदस्य राकेश राई, सिन्धुली जिल्ला इन्चार्ज लक्ष्मण पौडेल, जग्गा दाता खड्गबहादुर आले र खड्गकुमारी आलेले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सयौँ स्थानीय बासिन्दाको उपस्थिति थियो । उपस्थित सबैले भवन निर्माणमा श्रमदान गरेका थिए ।
भवन शिलान्यास गर्दै पौडेलले पार्टीको केन्द्रीय नीतिअन्तर्गत सिरुदमारमा समाज भवन निर्माण गर्न लागिएको बताए । उनले भने, ‘राज्यद्वारा पछाडि पारिएको उक्त स्थानमा यो नमुना कार्य हो । यसले राज्यद्वारा विभेद गरिएका वर्ग र समाजमा एउटा प्रेरणादायी सञ्चार गर्नेछ ।’
प्रगतिशील विचार र संस्कृतिको प्रचारप्रसार तथा स्थानीय जनताका छोराछोरीका लागि पढ्ने, लेख्ने, खेल्ने र मनोरञ्जन गर्ने थलोका रूपमा यसलाई विकास गर्ने र उक्त निर्माणकार्य ३ महिनाभित्र सम्पन्न गरिसक्ने ब्युरो पार्टी कार्यालयको योजना रहेको उनले स्पष्ट पारे । देशैभर यस्तैखाले समाज भवन निर्माण गर्ने पार्टी केन्द्रको नीति रहेको जानकारी उनले दिए।
समाज भवन निर्माणका लागि स्थानीय खड्गबहादुर आले र खड्गकुमारी आलेले ५ कट्ठा ११ धुर नम्बरी जग्गा उपलब्ध गराएका छन्।
भवन निर्माणका लागि जग्गा हस्तान्तरण गर्दै उहाँहरूले सामाजिक विभेद, अन्यायअत्याचारका विरुद्ध सबै श्रमजीवी तथा उत्पीडित एक भएर लाग्नुपर्ने बताए ।







