
नेकपा निकट युवा संगठन याेङ रेड फाेर्सले अाफ्नाे केन्द्रीय सदस्य राेशन ढकालकाे गिरफ्तारीकाे कडा रूपमा भर्त्सना गर्दै तत्काल रिहा गर्न सरकारलार्इ चेतावनी दिएकाे छ ।
फाेर्सका अध्यक्ष विवश रार्इले एक विज्ञेप्ती जारी गर्दै सरकारले अाफ्नाे संगठनका नेता र कार्यकर्ताप्रति दमन र धरपकडकाे नीति अवलम्बन गरेकाे भन्दै त्यस्ताे कार्य राेक्न पनि सरकारलार्इ अाग्रह गरेका छन् ।
फोर्सका अध्यक्ष विवशले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,
‘युवाहरुको गौरवशाली सङ्गठन योङ रेड फोर्स नेपालका केन्द्रीय समिति सदस्य क. रोशन ढकाललाई गत चैत ६ गते सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकास्थित बसपार्कबाट नेपाल प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार क. रोशनसहित अन्य कमरेडहरुलाई प्रहरी हिरासतमा राखेर अदालतमा उपस्थित गराउँदा अदालतले बिनाकारण गिरफ्तार गरिएका राजनीतिक व्यक्तिहरु अपराधी हुन नसक्ने हुँदा निर्दोष ठहर गरेलगत्तै अदालत परिसरभित्रैबाट उहाँहरुलाई पुनः गिरफ्तार गरिएको छ । यसरी अदालतभित्रैबाट गिरफ्तार गर्ने कार्यले अदालतको मानमर्दन मात्र भएको छैन, मानवअधिकारको समेत गम्भीर उल्लङ्घन भएको छ । उनीहरु आफैँले बनाएको नेपालको संविधानले दिएको अधिकारको समेत खिल्ली उडाएको छ ।’
थप विज्ञप्तिमा अगाडि भनिएको छ,
‘हामी यो देशमा परिवर्तनका खातिर दलालीका विरुद्ध सङ्गठित भएका युवा शक्ति हौँ जसले युवाहरुको श्रम र सिर्जनामा देशको भविष्य निहित हुन्छ भन्ने मान्यता राख्दछ । नेपाल सरकार नेपालको प्रचलित कानुनभन्दा माथि उठेर परिवर्तनका बाहक युवा शक्तिमाथि अस्वाभाविक रूपमा विभिन्न बहाना बनाई दमन र धरपकडको नीतिलाई नै सत्ताका विरोधीलाई दबाउने हतियारका रुपमा दुरुपयोग गर्ने धृष्टता गर्छ भने कदापि मान्य हुनेछैन ।’
सरकारलाई चेतावनी दिँदै विज्ञप्तिमा अध्यक्ष रार्इले भनेका छन्, ‘हेक्का रहोस्, आजसम्मको इतिहास दमनले प्रतिरोध र प्रतिरोधले ठूलाठूला परिवर्तन निम्त्याएको इतिहास हो । तसर्थ बिनाकारण गिरफ्तार र हाल बेपत्ता शैलीमा राखिएका क. रोशन ढकाललगायत सम्पूर्ण कमरेडहरुलाई बिनासर्त रिहा गरियोस् । हामीलाई सङ्घर्षका निम्ति बाध्य नतुल्याइयोस् ।







