
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यम आक्रमण देखिएका छन् ।
अभिनेता सलमान खानको सजायको समाचारलाई प्रमुख बनाइरहेका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको भ्रमणलाई पनि प्राथमिकता दिँदै आलोचनात्मक समाचार र विचार प्रकाशित गरेका छन् ।
ओलीको भ्रमणलाई लिएर सकारात्मक भन्दा नकारात्मक समाचारले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । ओलीकै कारण नेपाल भारतभन्दा चीनसँग नजिकिएको भन्दै भारतीय सञ्चारमाध्यमले तीतो पोखेका छन् ।
ओली चीन समर्थक
ओलीलाई चीन समर्थक प्रधानमन्त्रीको रुपमा ब्याख्या गर्दै भारतीय सञ्चारमाध्यमले भारतले यसमा सजग हुनुपर्ने पनि जिकिर गरेका छन् । ओली प्रधानमन्त्री भएपछि भारतीय सञ्चारमाध्यमले चीन समर्थक शीर्षकमा समाचार प्रकाशित गरेका थिए। अहिले भारत भ्रमणको बेला पनि त्यही कुरालाई दोहोर्याएका छन् ।
भारतीय सञ्चारमाध्यमले चीनले बनाइदिएको बाँधको जलविद्युत भारतले नकिन्ने चेतावनीसहित ओलीलाई अफ्ठ्यारो पार्ने सन्देश दिएका छन् । द इन्डियन एक्सप्रेसले ‘प्रधानमन्त्रीले ओलीलाई भन्ने छन्, यदि चीनले बाँध बनाउँछ भने त्यो विद्युत् भारतले किन्दैन’ शीर्षकमा समाचार छापेको छ ।
गत वर्ष जुनमा बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गोजुआलाई दिने निर्णय भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नेपालले चीनको बहुचर्चित परियोजना चीनलाई दिने निर्णय गर्यो ।
तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नोभेम्बरमा त्यस परियोजनाबारे चिनियाँ कम्पनीसँग भएको सम्झौता रद्द गरेको समाचारमा उल्लेख छ । साढे २ बिलियनको बूढीगण्डकी परियोजनाका लागि दिल्ली र बेइजिङको तानातानमा नेपाल फसेको छ । यस्तोमा भारतसँगको सम्बन्ध भुलेर चिनियाँ कम्पनी गोजुआलाई दिइएकोमा समाचारमार्फत् रोष प्रकट गरिएको छ ।
भारतीय सरकारी अधिकारीलाई उधृत गर्दै इन्डियन एक्सप्रेस लेख्छः कूटनीतिक क्षेत्रमा नरमरुपमा प्रस्तुत भए पनि ऊर्जा र सुरक्षाबारे भारतको ‘रेडलाइन’ प्रष्ट पारिनेछ ।
‘गत महिना नेपालका प्रधानमन्त्री ओलीले साउथ चाइना मर्निङ पोस्ट्लाई अन्तरवार्ता दिँदै बूढीगण्डकी परियोजना फेरि गोजुआलाई दिने बताएसँगै भारतीय पक्ष सशंकित भएको छ’, इन्डियन एक्सप्रेसले लेखेको छ । ओलीले साउथ चाइना मर्निङ पोस्ट्लाई भनेका थिए, ‘जलविद्युत हाम्रो प्रमुख प्राथमिकता हो, हिजो राजनीतिक दबाबले रद्द गरिएपनि बूढीगण्डकी परियोजनालाई पुनः सञ्चालन गर्छौँ ।’
प्रधानमन्त्री ओलीको पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युतको उत्पादनमा प्राथमिकता दिने कुराले पनि भारत झस्किएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख गरिएको छ ।
‘ओलीका अनुसार नेपालले तत्काल महँगो पेट्रोलियम पदार्थको विकल्पमा हाइड्रो पावरको विकास गर्न लाग्ने छ । अहिले सबै पेट्रोलियम पदार्थ नेपालले भारतबाट आयात गर्छ । नेपालले आमागी ५ वर्षमा इन्धन आयातको विल घटाउने लक्ष्य राखेको छ’, इन्डियन एक्सप्रेसले लेखेको छ ।
अन्नपुर्णका लागि सुरेन्द्र काफ्लेले तयार पारेकाे समाचारकाे सम्पादित अंश ।







