
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले झापा विद्रोह र जनयुद्धका धोकेबाजहरुले अहिले कथित वाम गठबन्धनको नाममा जनतालाई धोका दिइरहेको बताएका छन् ।
महासचिव किरणले ०२८ सालको झापा विद्रोह, चैत्र ०४६ साल २४ को जनआन्दोलन, दशवर्ष लामो जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश तथा जनजाति आन्दोलनहरु क्रान्तिका लागि उर्जा र उत्प्रेरणा भएको भन्दै ती सबै ऐतिहासिक आन्दोलन, विद्रोह तथा युद्धको नयाँ पुस्ताले गहिरो अध्ययन गर्नुपर्ने विचार व्यक्त गरे ।
क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग झापाले आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव वैद्यले यस्ताे बताएका हुन् ।
इतिहासका विभिन्न कालखण्डमा गरिएका वर्गसंघर्ष र बलिदानका इतिहासलाई विर्सन नहुने भन्दै महासचिव किरणले झापा विद्रोह र जनयुद्धका धोकेबाज र गद्दारहरुलाई समय आएपछि क्रान्तिकारी जनताले उचित सबक सिकाउने दावी गर्नुभयो ।
सच्चा कम्युनिष्ट, क्रान्तिकारीहरुलाई एकजुट पारेर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन आफू र आफ्नो पार्टीले इमान्दारितापूर्वक पहलकदमी लिइरहेको भन्दै महासचिव किरणले पार्टी एकतालाई लक्षित गर्दै चार पार्टीहरु तत्काल कार्यगत एकता गरेर अगाडि बढ्ने वातावरण निर्माण गरिएको पनि कार्यक्रममा जानकारी दिए ।
क्रान्तिकारी युवाहरुको उक्त सम्मेलनमा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा १ नं. प्रदेश सचिव राम आचार्य, युवाका फ्र्याक्सन इन्चार्ज तथा पार्टी केस मीनकुमार, केसहरु केदार गुरागाई, मनोज श्रेष्ठ लगायतका नेताहरुले पनि भेलालार्इ संवाेधन गरेका थिए ।







