माअाेवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले अघिल्लाे पटककाे स्थानीय निर्वाचनमा कांग्रेसले धाेका नदिएकाे भए एमालेसँगकाे एकीकरणमा माअाेवादी केन्द्र नअाउने बताएका छन् ।
एक अनलाइन मिडियासँगकाे कुराकानीमा जनार्दन शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले धाेका दिएका कारण अाफुहरू बाध्य भएर एमालेसँग मिल्न पुगेकाे धारणा राखेका छन् ।
कांग्रेस निकट बाह्रखरी अनलाइनसँगकाे अन्तर्वार्तामा प्रभाकरले अब एमालेसँग जसरी पनि एकता हुने बताएका छन् ।
प्रभाकरसँगकाे कुराकानीकाे सानाे अंश :

केपी ओली र प्रचण्ड मिलेर सरकार बनाउँदा अब कांग्रेससँग अर्थात् शेरबहादुर देउवासँग मिल्नुपर्छ भनेर प्रयास गर्ने नेतामध्ये तपाईं पनि हुनुहुथ्यो । त्यसपछि माओवादी र कांग्रेसको सरकार बन्यो तर फेरि त्यही सरकार ढालेर एमालेसँग एकता हुने चरणमा जानुभयो । तपाइँ दुवै भूमिकामा हुनुहुन्थ्यो । एकाएक कसरी परिवर्तन आयो ?
हेर्नुहोस्, त्यो कुरा के थियो भने केपी ओलीको सरकारको बारेमा प्रश्न उठ्यो । मैले सरकारमा प्रश्न उठ्नुभन्दा पहिले ओलीलाई भेटर केही कुराहरु भनेको थिएँ । मैले ओलीजीलाई त्यतिबेला हाम्रो पार्टी र अध्यक्षसँग छलफल गर्नपर्छ, अलिकति कुराहरु मिलेन मिलाउनुहोस् भनेर भनेको थिएँ । मैले भनेको कुरा ओलीजीले विश्वास गर्नुभएन । सानो-सानो कुराहरुमा काम भइराखेको थिएन । हाम्रो अध्यक्षले पनि ओलीसँग बसेर टुङ्गयाउन खोज्नुभएको थियो । तर, त्यतिबेला त्यो वातावरण मिलेन । नमिलेपछि बजेटपछि सरकार बदल्ने भन्ने हाम्रो पार्टीको निर्णय भयो ।
अर्थमन्त्रालयमा गएर तत्कालीन सरकारलाई बचाउने बुँदाहरु मैले नै लेखेको हो । विष्णु पौडेल अर्थमन्त्रालयमा हुनुहुन्थ्यो । मैले नै भनेर विष्णुजीले टाइप गर्नुभएको हो । त्यहाँ वामदेव गौतम पनि हुनुहुन्थो । हाम्रो नेताहरु जान मानेका थिएनन् ।
समझदारीअनुसार काम नभएपछि पार्टीबाट त्यसको आक्रोशको रुपमा सरकार बदल्ने कुरा भएको हो । तर सरकार बदल्नेमा म सक्रिय होइन । अरु साथीहरु सक्रिय हुनुहुन्थ्यो । मलाई पनि एकदिन बैठकमा बोलाउनुभएको थियो । जतिबेला त्यो सक्रियता धेरै अगाडि बढिसकेको थियो । बैठक मलाई थाहा थिएन तर एउटा बैठकमा म पनि सहभागी भएको हुँ । तर त्यसको भोलिपल्ट सरकार परिवर्तनमा लागेको भनेर मेरो पनि नाम आयो । मैले त्यसको खन्डन गरिनँ ।
भनेपछि तपाईं केपी ओली नै प्रधानमन्त्री रहिरहनपर्छ भन्नेमा हुनुहुन्थो ?
होइन, म केपी ओली र प्रचण्डबीच भएको सहमति कार्वान्वयन हुनुपर्छ भन्नेमा पक्षमा थिएँ । पछि कांग्रेससँगको सरकार बनाएपछि स्थानीय तहको निर्वाचन भयो । स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरेर जाने कुरा भयो । तर, त्यो कुरा सजिलो थिएन । पार्टीले निर्णय गर्यो । एकदिन वार्तामा अध्यक्षले मलाई पठाउनुभयो र म गएँ । त्यहाँ कांग्रेस नेताहरु रामशरण महत तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलगायत साथीहरुको वार्ता टोली थियो । त्यहाँ छलफल भयो मैले त्यहाँ माथिदेखि तलसम्म एउटा विधि तय गरौं भनेको थिएँ । तर उहाँहरुले होइन तल-तल गर्छन् भन्नुभयो ।
पछि तल आफ्नो-आफ्नो ढंगले मिलाउने प्रयत्न भयो । जहाँ-जहाँ मिलाउन प्रयत्न भए भोटिङमा इमानदारिता देखिएन । सहकार्य हुनलाई इमानदारिता हुनुपर्यो नि, परिणामले त त्यो देखाएन ? धेरै ठाउँहरुमा हामीलाई हराइयो । हाम्रो तर्फबाट इमानदारितापूर्वक कांग्रेसलाई भोट हालियो । तर, हामीले पाउनेमा पाएनौं । त्यसबाट के कुरा पुष्टी भयो भने- कांग्रेस सभापति शेरबहादुर देउवाले भनेपनि अन्य नेताहरु तयार नहुने, तल आफैँ-आफैँ गर भन्दा पनि तल पनि सहज र सहकार्य नहुने देखियो । सहज र सहकार्य नदेखिएपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि स्थानीय तहको जस्तो अवस्था दोहोरिने भयो ।
शेरबहादुर देउवाजीसँग मेरो एकदमै राम्रो सम्बन्ध थियो । उहाँ प्रधानमन्त्री भएको बेलामा कुनै समस्या थिएन । एकदमै राम्रो सम्बन्ध थियो । त्यो व्यक्तिगत सम्बन्ध भयो । तर, अहिलेको त राजनीतिक र पार्टीको कुरा भयो । व्यक्तिगत रुपमा मैले गरेर त हुने कुरा भएन नि ?







