
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं सभामुख कृष्णबहादुर महराले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा महराले आफूले गत फागुन २७ गते नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेको बताएका हुन् ।
सभामुख सबैको साझा हुनुपर्ने भएकाले पार्टीगत जिम्मेवारीबाट राजीनामा दिने चलन छ । यसअघि अन्य सभामुखले पनि राजीनामा दिएका बताउथे ।
तर सभामुखबाट मुक्त भएपछि भने फेरि पार्टीका राजनीतिमा सक्रिया भएको इतिहास रहेको छ ।
साथै सभामुख महराले आगामी वैशाखको अन्तिम साता शुरु हुने संसदको अधिवेशनलाई प्रभावकारी बनाउने दाबीसमेत गरे ।
‘यसअघि संसदको पहिलो र उद्घाटन अधिवेशन भएकाले सामान्य भयो,’ सभामुख महराले भने, ‘संसदको आगामी अधिवेशनबाट कामकारवाहीलाई प्रभावकारी बनाउँछौं ।’
साथै महराले २ वर्षभित्र संसदको आफ्नै भवन बनिसक्ने पनि बताए । संसद भवन सिंहदरबारभित्र पुतली बगैँचामा बनाउन लागिएको छ ।
आफ्नै भवन नहुँदा संघीय संसद अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा भाडामा सञ्चालन हुँदै आएको छ ।







