नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पाेखरेलले माअाेवादी केन्द्रले भनेकाे फिप्टी फिप्टीकाे अाधारमा एकता नहुने भन्दै जनताकाे जनादेशअनुसार हुनुपर्ने बताएका छन् ।
पाेखरेलले पछिल्लाे प्रतिनिधिसभा निर्वाचनमा जे परिणाम अायाे, त्यहीअनुरूप हुनु पर्ने दावी गरेका छन् ।
अनलाइनखबरसँगकाे कुराकानीमा पाेखरेलले पछिल्लाे निर्वाचनमा ७०,३० काे अाधारमा जुन परिणाम अायाे, त्यसैकाे अाधारमा एकता गर्नुपर्ने बताएका छन् ।
प्रचण्डले फिप्टी फिप्टीकाे कुरा गरेपनि पार्टी एकताका लागि उनी धेरै लचक भएकाे पाेखरेलकाे दाबी छ ।
पाेखरेलसँगकाे कुराकानीकाे संक्षिप्त अंश –

बाहिर विवाद चुनाव चिहृन र जनयुद्ध शब्दमा देखाइए पनि भित्र अरुनै कुरा छन् कि ?
मनोविज्ञानको पाटो पनि हुनसक्छ । माले माक्र्सवादी मिल्दा पनि यस्तै भएको थियो । हामीले पार्टीको नाम लेख्ने बेला नेकपा मा र ले भन्ने नाम राख्यौं । हामी माले वालाले ‘र’ सानो लेख्ने वा कहिलेकाहीँ र छाड्ने गरेका थियौं ।
मार्क्सवादीबाट आएका साथीहरुले लौ ‘र’ छाड्यो भनेर हल्ला गर्ने काम पनि भयो । यो चाहिँ मनोविज्ञान नमिल्दासम्मको कुरा हो । एउटै पार्टी भइसकेपछि यस्ता मनोवैज्ञानिक समस्या आफैं हराएर जान्छन् । सूर्य चिहृन भनेको एमालेको होइन, अब नयाँ बन्ने कम्युनिस्ट पार्टीको हुने हो ।
प्रचण्डको व्यवस्थापनमा अझै आश्वस्त पार्न नसकेर कुरा आएका हुन् भन्ने आशंका पनि छन् नि ?
प्रचण्ड कमरेडमा पाटी एकताप्रति लचकता छ । केही केही बेलाका सार्वजनिक अभिव्यक्तितिर नजाऊँ । आमरुपमा उहाँ पार्टी एकताको पक्षमा लचक हुनुहुन्छ । उहाँले अरु कुरा खोज्नुभएको छैन ।
तर, केन्द्रीय कमिटीमा ५०/५० को कुरा त बटमलाइनकै रुपमा आयो नि ?
मैले उहाँको भर्सन सुनेको आधार उहाँले भनेको सम्मानजनक हुनुपर्छ भन्ने हो । एकता भनेको अपमानजनक हुँदैन, सम्मानजनक नै हुन्छ । तर, जनता र कार्यकर्ताबीच जाँदा एउटा जनादेश आएको छ, त्यसलाई पनि ख्याल गर्नुपर्छ ।
फेरि उहाँले ५०/५० नै भन्नुभएको पनि छैन । मान्छेले आ-आफ्नो ढंगले भनेका हुन् । उहाँले समानतामा आधारित भन्नुभएको हो । त्यसमा त बिमति हुन्न ।
हिजो सिट बाँडफाँट ६०/४० मा भयो, परिणाम आउँदा ७०/३० जस्तो छ । प्रदेश र राष्ट्रियसभाका पद बाँडफाँट त्यसरी नै गर्नुभयो, अब कुन आधारमा संख्या बाँड्ने त ?
केही न केहीमा आधारित भएर बाँडफाँट गर्नुपर्छ, त्यतिकै गर्न त मिल्दैन । पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभामा आएको मतलाई आधार मानिएको हो ।
अब पनि केही न केही आधार तय गर्नुपर्छ । मनोगत ढंगले यसो गरौं होला भनेर हुँदैन । मुलतः जनता र कार्यकर्ताको जनादेश नै हो । त्योबाहेक अन्य पक्षहरुलाई पनि हामी ध्यान दिन्छौं । बस्तुगत यथार्थमा टेकेर हामी केन्द्रीय कमिटी बनाउँछौं ।







