नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमालेका अध्यक्ष समेत रहेका प्रम केपी ओली र माके अध्यक्ष प्रचण्डहरुले नेपाली जनताको हक, हित र अधिकारको रक्षा गर्न नसक्ने बताएका छन् ।

क्रान्तिकारी माओवादी काठमाडौंको बिहीबारबाट सुरु भएको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले जनताको हक, हित र अधिकारको रक्षाका निम्ति नयाँ जनवादी क्रान्ति अनिवार्य बन्न गएको विचार व्यक्त गरेका हुन् ।

ओली नेतृत्वको सरकार बनेपछि अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रलाई आधार मान्ने हो भने देशको ढिकुटी पूरै रित्तिएको छ, संघीय प्रदेशहरु सञ्चालनसम्बन्धी कानुन छैन, संरचना र बजेट छैन, देशका प्राकृत्तिक तथा मानवीय स्रोतसाधन विदेशीलाई सुम्पेर आर्थिक विकास र समृद्धिको एकहोरा झुठो नारा फलाकिएको चर्चा गर्दै महासचिव किरणले कोशी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत विगतका सबै असमान सन्धि सम्झौताहरु खारेज गरेर स्वदेशी लगानीमा बनाउने नीति नल्याएसम्म देशको आर्थिक विकास हुनै नसक्ने दावी गरे ।

महासचिव किरणले भने “ओली जी देशलाई सिंगापुर, स्वीटजरलैण्ड बनाउने भन्दै हिडेका छन्, वामपन्थी, कम्युनिष्ट भए त बोल्शेविक(लेनिन)हरुको रुस, माओको चीन जस्तो बनाउँछौं भन्नुपर्ने हो नि ।”

कम्युनिष्ट, वाम वा राष्ट्रवादीको नाममा उनीहरुले छरेको भ्रम अब धेरैदिन नटिक्ने दावी गर्दै महासचिव किरणले कम्युनिष्टको साइनबोर्ड मात्रै हटाउने हो भने राप्रपा र कांग्रेसभन्दा एमाले र माकेमा केही फरक नभेटिने बताए ।

विगतमा एमालेलाई “संशोधनवादी एमाले गद्दार गुट”, “प्रतिक्रियावादमा पतन एमाले”, “जनयुद्धको प्रतिकारमा उत्रिएको एमाले गुट”, “संकटकाल लगाउन र माओवादी नेताहरुको टाउकाको मूल्य तोक्न सरकारलाई उक्साउने एमाले” भनेर लेख्ने र भाषण गर्ने प्रचण्ड आज एमालेमा विलय हुन पुग्नु भनेको उनको उल्टो दिशातिरको छलाङ भएको भन्दै महासचिव किरणले भने, “एमाले होइन बदलिएका प्रचण्ड हुन्, माके हो ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार