एमाले र माअाेवादी केन्द्रकाे एकतामा प्रचण्ड पछि हच्किनुकाे कारण तत्कालीन चर्चित एकताकेनन्द्रका नेता अमिक शेेरचन बन्ने चिन्ता रहेकाे अर्काे रहस्य खुलेकाे छ ।
एक विश्लेषक एवं टिप्पणीकार सुवास पंडितले यस्ताे विश्लेषण गरेका छन् ।
अनलाइनखबरमा उनले अाफ्नाे विश्लेषण राख्ने क्रममा प्रचण्ड नेतृत्वकाे भाेकाे रहने पात्र भएकाे तर एमालेमा एकता गरेपछि उनकाे भविष्य सुरक्षित नरहने भएपछि उनी पछि हटेकाे टिप्पणि गरेका छन् ।

उनले गरेकाे टिप्पणीकाे सम्पादित अंश –
०६२/०६३ सालको जनआन्दोलन ताका ७ राजनीतिक दलको गठवन्धन निकै चर्चित थियो । त्यो गठवन्धनका शीर्ष नेता थिए अमिक शेरचन । जनमोर्चा नेपालको अध्यक्ष भएर उनले माओवादीसँग बार्ता गर्ने, आन्दोलनमा सहभागिता जनाउने भूमिका खेल्ने काम गर्दथे ।
मोटरसाइकल चढेर हिँड्ने नेता शेरचन मिडियामा पनि खुवै छाउँथे । तर, नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सो पार्टीलाई तत्कालीन नेकपा माओवादीमा विलय गराएर एकीकृत नेकपा माओवादी बनाएपछि अमिक शेरचन छायाँमा परे ।
राजनीतिक शीर्ष भूमिकाबाट ओझेलमा परेका अमिकलाई आफ्नै पार्टीमा राखेका प्रचण्डले एमालेसँग एकता गरेपछि कतै अमिककै हालत त हुने होइन भन्ने ठूलो संशय पैदा गरेको छ ।
स्वभावका हिसावले पनि प्रचण्ड चर्चामा आइरहन रुचाउने पात्र हुन् । प्रचण्ड विगत ३ दशकदेखि कुनै न कुनै कम्युनिष्ट पार्टीको नेतृत्वमा छन् । एमालेसँग एकतापछि त्यो हैसियत कहाँसम्म रहला भन्ने सोचले उनलाई सताएको छ ।
माओवादीलाई एमालेसँग पार्टी एकता गराउँदा नारायणीमा दरौंदी मिसिएजस्तै हुने त होइन भन्ने लागेको हुनसक्छ प्रचण्डलाई । उनले नयाँ पार्टीका दुईमध्ये एक अध्यक्ष बन्ने सुनिश्चितता त पाइसकेका छन् । यसका साथै उनले राजकीय भूमिका पनि खोजेका छन् जुन अमूर्त छ, अहिलेसम्म ।
एकीकृत पार्टीको आगामी महाधिवेशनपछि अध्यक्ष हुन पाउने वा नपाउने ? नपाए के हुने के गर्ने भन्नेसम्मको चासो उनलाई छ । जुन अस्वभाविक नहोला । यसका लागि उनले एमालेबाट केही वचनको अपेक्षा गरेका हुन सक्छन् ।
विषेश गरी एमाले अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनमा माधव नेपाललाई अध्यक्षको उम्मेदवार बनाउने भनेर आश्वासन दिएको प्रचण्डलाई लागेको छ । एमालेभित्र माधव नेपाल पक्षको साथ लिएर ओलीका विरुद्ध भोलि परीआए लड्न सकिने प्रचण्डले आश गरेका थिए ।
सोही कारण एमालेभित्र निर्वाचनलगत्तै देखिएका केही विवादमा प्रचण्ड मौन थिए । माधव नेपाल पक्षका केही युवा नेताले आफूलाई काँधमा बोकेर हिँड्छन् भन्ने प्रचण्डलाई लागेको थियो ।
विगतमा पार्टी भत्काउँदै बनाउँदै गरेको बताउने प्रचण्डले माओवादीमा एकलौटी नेतृत्व गर्दै आएका छन् । जे जे नाममा उनले पार्टी बनाए पनि त्यसको डाडुपन्यू आफैंले समातेका छन् । तर, एमालेसँग एकतापछि त्यो नहु नसक्ने अवस्था तयार हुन सक्छ ।
महाविधेशन नगरेर वा गरेको जस्तो गरेर सदावहार नेतृत्व लिएका प्रचण्ड नयाँ पार्टी बनेपछि कति कार्यकाल अध्यक्ष बन्न पाउँछन् ? एमालेमा पार्टी प्रमुख भएर नेतृत्व गरेका अहिले पनि ३ जना नेता छन् ।
बहुपदीय प्रणालीमा ५ बर्षमा महाधिवेशन गर्ने, नेतृत्वमा प्रतिस्पर्धा गर्ने र कार्यकर्ताले आफ्नो मत सिधैं दिएर नेतृत्व छान्ने परम्परा छ । यी सबै कुरालाई स्वीकार गरेर जाँदा भोलि कहाँ पुगिएला भन्ने चिन्ताले एकता प्रक्रियामा अल्झाउने र ढिलाढाला गर्न खोजेकोजस्तो देखिन्छ ।
यीनै मूर्त अमूर्त विषयहरु छन् । जुन आफूकेन्द्रित छन् ।
एमालेसँग एकता गर्ने तयारीमा रहेका प्रचण्डले यो कुरा बुझ्न आवश्यक छ कि, माओवादी केन्द्रमा जस्तो लगातार नेतृत्वमा सधैं आफू नरहन पनि सकिन्छ । पार्टी एक भइसकेपछि कुरा नमिले पार्टी फुटाउन सक्ने अवस्था पनि प्रचण्डको रहँदैन । पार्टी फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुग्नुपर्ने हुन्छ ।
माओवादीका अहिले प्रतिनिधिसभामा ५३ जना सांसद छन्, एमालेका १२१ जना । यी दुवै मिलाउँदा १७४ जनाको संसदीय दल बन्छ । यसको ४० प्रतिशत पुर्याउन झण्डै ७० जना सांसद पुर्याउनुपर्दछ । झण्डै १७ जना एमालेका सांसद चोर्नुपर्छ, यो कठिन छ ।
फेरि पार्टी एक भइसके पनि माओवादी केन्द्रका सवै सांसद प्रचण्डको साथमा हिँड्छन् भन्ने पनि छैन । अहिले नै कतिपय माओवादी केन्द्रका नेताहरु प्रचण्डसँग भन्दा ओलीसँग निकट भएका खबरहरु पनि आइरहेका छन् ।







