लामाे समय दुश्मनीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप भएको छ ।

अमेरिका र उत्तर कोरियाबीच औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला ट्रम्प र उनबीच सीधा सम्पर्क भएको हो ।
शिखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो उत्तर कोरिया अाइपुगेका छन् । माइक पोपियोको यही भ्रमणको क्रममा ट्रम्प र उनबीच वार्तालाप भएको हो ।
वाशिङटन पोस्टका अनुसार ट्रम्पले भनेका छन्, ‘हामीले निकै उच्चस्तरमा सीधा कुराकानी गरेका छौं ।’
ट्रम्पका अनुसार शीखर वार्तालाई ऐतिहासिक बनाउने प्रयासमा अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच पनि वार्ता भइरहेको छ ।
अमेरिका र उत्तर कोरियाबीच औपचारिक वार्ताका लागि पाँच स्थानको विकल्प राखिएको छ । तर, कहाँ वार्ता गर्ने भन्ने अझै निश्चित भइसकेको छैन ।
अमेरिका र उत्तर कोरियाबीचको वार्ताको जापानले स्वागत गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनसँग जापानी प्रधानमन्त्री सिन्जो आबेसँगै बसेर कुराकानी गरेको समाचारमा उल्लेख छ । अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच फ्लोरिडामा भेटवार्ता भएको थियो ।
सिन्जो आबेले ट्रम्पको तारिफ गर्दै भनेका छन्, ‘अमेरिका र उत्तर कोरियाको वार्ताले ठोस नतिजा निकालोस् । विश्वास छ, वार्ताको क्रममा कोरियाली प्रायद्वीपमा जापानको सुरक्षा चिन्ताको पनि ख्याल हुनेछ ।’







