माअाेवादी केन्द्रका युवा नेता रामदीप अाचार्यले एमालेबाट जनयुद्धलार्इ नस्वीकारिए र प्रचण्डलार्इ खलनायक बनाउन खाेजेकाे भन्दै यसले एमाले र माअाेवादी केन्द्रबीच एकता हुनै नसक्ने बताएका छन् ।
प्रचण्डलार्इ नायकबाट खलनायक बनाउन एमालेका नेताहरू लागेकाे भन्दै त्यसलार्इ चिरेर जान अाफुहरू तयार रहेकाे युवा नेता अाचार्यकाे भनार्इ छ ।
एक अनलाइनमा उनले एमालेका नेताहरूबाट जनयुद्धलार्इ अपराधीकरण र प्रचण्डलार्इ खलनायक बनाउन खाेजेकाे भन्दै यस्ताे परिणामबाट हुने एकता अाफुहरूलार्इ नचाहिएकाे बताए ।

रामदीप अाचार्यले भनेका छन् –
जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन । अहिलेको सबै परिवर्तनको स्वामित्व लिने तर जनयुद्धको स्वामित्व नलिने कोही सही कम्युनिष्ट दृष्टिकोण होइन । हामी कम्युनिष्टहरू स्पार्टाकसदेखि यताका सबैखाले न्यायपूर्ण विद्रोहका पक्षपाति हौं ।
हामै्र धर्तीमा भएको विद्रोहको स्वामित्व किन नलिने ? नेपाली जनताको बीचमा यति ठूलो मात्रामा सेना गठन गरेर महिला, दलित, मधेसी, थारु, जनजाति, किसान, मजदुर अरू साराका सारा सामेल भएर गरेको विद्रोह नेपाली इतिहासको विरलै घटना हो । बरु यो कसरी सम्भव भएको थियो, त्योबाट सिक्न जरुरी छ । नेपाली जनयुद्ध आँधी हो, उथलपुथल हो, विद्रोह हो । यसलाई त्यसरी नै परिभाषित गरिनु पर्छ ।
साम्यवादको बाटोमा अगाडि बढ्ने सङ्कल्प बोकेको थियो, यसको उद्देश्य त्यही हो । जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो ।
कार्ल माक्र्सले इतिहासमा नेतृत्व आवश्यकता र आकस्मिकताको मेलका रूपमा पैदा हुन्छ भने । समकालीन नेपाली इतिहासले त्यस्तै नेताको रूपमा प्रचण्डलाई पैदा गरेको हो । प्रचण्ड सामान्य व्यक्ति हुन् । एउटा किसान परिवारमा जन्मेका, दैविक शक्तिबाट आएका होइनन् । जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ?
आजको नेपाली कम्युनिष्टहरू खासगरी माओवादी केन्द्र र एमाले बीचको एकता जनताले अनुमोदन गरेको ऐतिहासिक एकता हो । यो आजको युगको माग र आवाज पनि हो । हामी सबैको साझा सङ्कल्प र प्रतिबद्धता पनि हो तर तिर्खा लाग्न बित्तिकै नालीकै पानी त कहाँ पिउन सकिन्छ र ? माओवादी र एमाले फरक फरक पृष्ठभूमि, स्कुलिङ र धाराबाट आएको दुनियाँ सामु जगजाहेर छ । सम्मानजनक एकता हुनै पर्छ । एउटा अर्कोमा विलिन होइन । समाजमा अन्यायका विरुद्ध विद्रोह गर्ने पार्टीमा अन्याय सहने कुरा कल्पना पनि गर्न सकिँदैन ।
तसर्थ, एकतामा एकले अर्काको संवेदनशीलतालाई गहिरो गरी आत्मासात् गरिनुपर्छ । अहिले झ्यापझुप गरिहालौं भोलि देखा जायेगा भन्ने अर्थमा पार्टी एकता गरिनु हँुदैन । त्यो दिगो हुनु पर्छ र औचित्यपूर्ण पनि । हामी दुई चार वर्षको लागि एकता गर्दै छैनौं शताब्दियौंका लागि गर्दैछौं । हाम्रो जग बलियो हुनै पर्छ । सबै लागौं जग बलियो बनाउन ।







