एमाले र माअाेवादी एकताले गतिराेध लिनुमा प्रचण्डकाे पदकाे व्यवस्थापन नै मुख्य समस्या रहेकाे एमालेका नेताहरूले बताउने गरेका छन् ।

यसबारे एमालेका एकजना नेता भन्छन्–मुख्य कुरा प्रचण्डकै व्यवस्थापन हो । उनी प्रधानमन्त्री र पार्टीको अध्यक्षमा अहिले नै सुनिश्चितता चाहन्छन् । त्यो हुन सक्यो भने छिट्टै एकता हुन्छ ।”
उनका अनुसार प्रचण्डले प्रधानमन्त्री पनि पालैपालो हुनुपर्ने र आउने महाधिवेशनमा सहमतिमै आफू अध्यक्ष हुनुपर्ने लिखित सम्झौता अहिले नै चाहेका छन् । महाधिवेशनमा आफ्नो प्रतिष्पर्धी नहोस् भन्ने ग्यारेन्टी प्रचण्डले अहिले नै चाहेको ती एमाले नेताको दाबी छ ।
त्यसले नै एकतामा जटिलता थपिएको हो ।
केही समय रोकिएको वार्ता प्रक्रिया सोमबारबाट सुरु भएको थियो । सोमबार दुवै अध्यक्षबीच वान टु वान वार्ता भएको थियो भने मंगलबार बिहान एकता संयोजन समितिको बैठक बसेको थियो ।
बैठकपछि एमालेका नेताहरुले विवादित विषय नभएको बताए पनि माओवादीका नेताहरुले भने केही विषय मिल्न बाँकी रहेको प्रतिक्रिया दिएका थिए । अहिले विवादित भनिएका विषयहरु जनयुद्ध, चुनाव चिन्ह र अनुपात मिलाउने विषय खासै ठुलो नभएको एमालेका नेताहरुको प्रतिक्रिया छ ।
केन्द्रीय कमिटीमा रहने सदस्यको संख्या बढाएर भए पनि केही नेतालाई व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष तयार छन् तर पनि एकता प्रक्रिया भनभे अघि बढ्न सकेको छैन ।
माओवादी केन्द्रका एक नेताका अनुसार दुवै पार्टी अहिले पर्ख र हेरको अवस्थामा छन् ।
“मुख्यगरी नेताहरुको व्यवस्थापनको नै कुरा हो, अरु केही छैन । हामीले बराबरी हैसियतमा पार्टी एकता हुनपर्छ भनिरहेका छौं । एमालेका नेताहरुले प्रतिशतको आधारमा नै एकताको प्रस्ताव गर्नु भएको छ । अहिले एकताको सम्पूर्ण काम टुङ्गो लगाउन भनेर दुई अध्यक्षलाई जिम्मेबारी दिइएको छ । उहाँहरुबीच सहमति हुनासाथ सबै विषय एकैपटक हल हुन्छन्,” माओवादी केन्द्रका ती नेताले बुधबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने ।
माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको महाधिवेशनपछि आफैँ अध्यक्ष हुन्छु भन्ने थियो । तर, पछिल्लो समय एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्षको जिम्मेवारी दिने आश्वासन दिएपछि उनी झस्किएका थिए । जुन आश्वासन आफूले पनि यसअघि पाएका थिए । पार्टी एकताको कामलाई छिटो टुङ्गोमा पुर्याउनुपर्ने भन्दै गत आइतबार नेपाल आफैँ प्रचण्ड निवास खुमलटारमा पुगेपछि प्रचण्ड झन शंकाको घेराबन्दीमा परे ।
माओवादी स्रोत भन्छ– एकीकृत पार्टीको आउने महाधिवेशनमा ओलीले पार्टीकै नेता माधवकुमार नेपाललाई उठाउने आश्वासन दिएको खबर आएपछि हामीलाई अप्ठेरो परेको हो । यसअघि उहाँले प्रचण्डलाई नै अध्यक्ष बनाउने आश्वासन दिनुभएको थियो । प्रचण्डलाई महाधिवेशनमा नेपालले नै सघाउने आशा थियो । प्रचण्डको स्वभाव यसैपनि शंकालु छ ।”
यसरी प्रचण्डकाे अध्यक्ष र पालैपालाे प्रधानमन्त्री बन्ने सपना पूरा नहुने भएपछि एकताले गतिराेध लिएकाे हाे ।







