नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसले अबको नयाँ सरकारमा बर्दियाबाट संसदमा प्रतिनिधित्व गर्ने सञ्जय गौतमलाई उपप्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । साथै केही विकाससँग सम्बन्धित मन्त्रालयहरूमा कांग्रेसले दाबी गरेको छ ।

सञ्जय गौतमले एमालेका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभा निर्वाचनमा भारी मतले पराजित गर्दै निर्वाचित भएका थिए । कांग्रेसले पनि बामदेव गौतमको घमण्ड तोड्नका लागि एमाले–कांग्रेसबीच छिट्टै बन्ने तयारीमा रहेको संयुक्त सरकारमा सञ्जय गौतमलाई प्रस्ताव गरेको टिप्पणी हुन थालेको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको कुरा चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा लिखित सहमति गर्न दवाव सिर्जना गरेपछि ओली भड्किएर कांग्रेससँग निकटता बढाएका हुन् । ओलीले प्रचण्डलाई सत्ताभन्दा बाहिर राखेर कांग्रेससँगको सहकार्यमा देशलाई निकास दिने योजना बनाएको एक नेताले बताए ।

माओवादी केन्द्रसँग भन्दा पनि नेपाली कांग्रेससँग सहकार्य गरेर सरकार बनाउँदा देशको विकास हुने र राजनीतिक निकास पनि आउने ओलीको निष्कार्ष छ । प्रचण्डको अनावश्यक दवावबाट ओली र एमालेका नेताहरू तर्सिएका छन् । एमाले–कांग्रेसको बन्न लागेको नयाँ सरकारको कार्यविधि र खाका विषयमा ओली र देउवाको किचन क्याबिनेटका नेताहरूले तयारी गरिरहेको स्रोतले जनाएको छ ।

भारत भ्रमणबाट आउनेवित्तिकै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर लामो छलफल गरेका थिए ।

त्यो छलफलमा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूलाई बाहिर राखेर अगाडि बढ्ने सहमति भएको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार