
Commission for the Investigation of Abuse of Authority, CIAA
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लाे वर्षभन्दा यस वर्ष दाेब्बरले भ्रष्टचार बढेकाे रिपाेर्ट निकालेकाे छ ।
अख्तियारले सबैभन्दा बढी शिक्षा र स्थानीय तहका क्षेत्रका उजुरी पर्ने गरेकाे रिपाेर्ट निकालेकाे छ । गत वर्षमा सबभन्दा बढी शिक्षा क्षेत्रमा एक हजार ५२६ र स्थानीय तहमा एक हजार २९७ उजुरी परेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिएका छन् ।
उनका अनुसार शिक्षामा शिक्षक नियुक्ति, विद्यालयको भौतिक पूर्वाधार, नक्कली शिक्षकका उजुरी पर्ने गरेका छन् । यस्तै जनप्रतिनिधि आइसकेपछि स्थानीय तहका सम्बन्धमा पनि आयोगमा उजुरी पर्ने गरेका छन् ।
प्रवक्ता मैनालीले स्थानीय तहका सेवा प्रभाव, राजश्वमा अनियमितता, कर्मचारीको ढिलासुस्ती, नक्सापासजस्ता उजुरी पर्ने गरेको बताए । उनले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि बढी उजुरी परेको बताए । आयोगले ती उजुरीका सम्बन्धमा अनुसन्धान जारी राखेको उनले बताए ।
यस्तै आयोग स्थानीय जनप्रतिनिधिलाई सुशासन र भ्रष्टाचारका सम्बन्धमा अभिमुखीकरण तालिम सञ्चालन गर्न थालेको छ । स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नका लागि अभिमुखीकरण गरिएको प्रवक्ता मैनालीले बताए ।
उनका अनुसार प्रदेश नं १ र २ मा सकिएको छ भने बाँकी प्रदेशमा यसै महिनाभित्र सकिने छ ।







